काठमाडौं । एक महिनापछि सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सहमतिको खाका बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदललाई अनुमोदन गरेको छ ।
यसअघि नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएका थिए । कार्यदल गठन गरेकोमा सचिवालय बैठकले अध्यक्षद्वयलाई धन्यवाद पनि दिएको छ ।
कार्यदललाई छिटोभन्दा छिटो सुझाव पेश गर्न निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
भागबन्डामा बनाइएको कार्यदलमा ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, माधवकुमार नेपाल पक्षका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे तथा प्रचण्ड पक्षका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् ।
नेकपामा असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
ओलीले आफूलाई पदबाट हटाउन भारत लागिपरेको र आफ्नो दलका शीर्ष नेताहरु भारतका दलाल भएको बताएपछि स्थायी कमिटी बैठकमा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागिएको थियो ।
प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतमले राजीनामाको माग गरेका थिए ।