बेलबारी। मोरङको पथरीमा चित्तल सहित सोमबार दुई जना शिकारी पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका २ मा रहेको हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरि जंगली जनावर चित्तललाई पासोमा पारी लैजानै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्र कुमार श्रेष्ठ र सोही वडा वस्ने वर्ष २१ को विश्ववन्धु भन्ने विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् । उनिहरुको साथबाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको रुपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी वरामद गरेको छ ।
पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको प्रहरीले जनाएको छ । वन क्षेत्रको माथिल्लो भागमा चित्तललाई पासोमा पारी तान्दै लैजाने क्रममा वन हेरालुहरुले देखेर प्रहरीलाई खवर गरेपछि वनका पदाधिकारी र प्रहरीको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
कोरोना कहरका कारण समुदायस्तरवाट नियमित रुपमा वनको गस्ती गर्न सम्भव नभएका कारण चोरी शिकारीका घटनाहरु वढ्दो क्रममा रहेको हरीयाली सामुदायिक वनका अध्यक्ष कावुल बहादुर मगरले वताए ।