arrow

पुनर्कर्जाका लागि राष्ट्र बैंकले आवेदन खोल्यो

logo
प्रकाशित २०७७ भदौ १ सोमबार
NRB.JPG

काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ। राष्ट्र बैंकले ४५ दिने म्याद दिँदै आवेदन माग गरेको हो। सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले आगामी १४ असोजसम्म आवेदन दिनसक्ने जानकारी गराएको हो। पुनर्कर्जा कार्यविधि २०७७ अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका आवेदन खुल्ला गरिएको सूचनामा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले पुनर्कर्जा वितरणका लागि यसअघि नै कोरोनाबाट अतिप्रभावित, मध्यम प्रभावित र कम प्रभावित भनेर वर्गीकरण गरिसकेको छ। सोही अनुसार कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटनलगायतका उद्योग व्यवसायलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो।

पुनर्कर्जाका लागि आवेदन दर्ता गर्दा नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ अनुसूची १ बमोजिमको ढाँचामा आवेदन दिनुपर्ने, इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिले निर्णय गरेको हुनुपर्ने, शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची सहितका कागजात आवश्यक पर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।

पुनर्कर्जा लिँदा निश्चित शर्तहरु पालना गर्नुपर्ने राष्ट्र बैंकले सूचनामार्फत जानकारी गराएको छ। सूचनामा उल्लेख गरेअनुसार संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने, आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने शर्त राखिएका छन्।

त्यस्तै एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक र वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने  र पुनर्कर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने लगायतका शर्तहरु राखिएका छन्।

त्यस्तै आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्ने र आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेबमोजिम पुगेको हुनुपर्ने शर्त सूचनामा उल्लेख गरिएका छन्। राष्ट्र बैकले अति प्रभावित व्यवसायमा पर्यटन, हवाइ, ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ, सेन्टर, क्यासिनो, मसाज स्पा आदिले अतिप्रभावितको सूचीमा रहेका छन्।



लोकप्रिय समाचार
नयाँ