काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोग लगायत रिक्त पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवासंग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संवैधानिक आयोग र विश्वविद्यालयमा रिक्त पदको नियुक्ति, कोरोना भाइरस (कोभिड–१९) र बाढीपहिरोलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।
संवैधानिक आयोगका रिक्त पदमा समझदारीअनुसार चाँडै नियुक्त गर्ने विषयमा सहमति भएको छलफलमा सहभागी नेकपाका नेता सुवास नेम्बाङले जानकारी दिए ।
“विभिन्न संवैधानिक आयोगका पद रिक्त रहेका छन् । रिक्त पद खाली राख्नु हुँदैन भन्नेबार उनहरुबीच छलफल भयो”, नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने, “ रिक्त पदमा चाँडै आपसी समझदारीअनुसार नियुक्ति गरेर पूर्णता दिने विषयमा छलफल भयो । चाँडै ती रिक्त पदमा पदपूर्ति हुन्छ ।” अहिले अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन, महिला, थारु आयोगलगायत अधिकांश आयोगमा पदाधिकारी रिक्त छन् ।
यस्तै उनहरुबीच विभिन्न विश्वविद्यालयमा रिक्त पदमा नियुक्ति तथा ती विश्वविद्यालयमा भइरहेको तालाबन्दी र आन्दोलनबारे पनि छलफल भएको बताइएको छ । यस्तै महामारीका रुपमा रहेको कोभिड–१९ को रोकथाम र नियन्त्रण तथा देशभरि बाढीपहिराले पुर्याएको क्षति र त्यसबाट जोगाउने उपायबारे पनि छलफल भएको उनले जानकारी दिए ।
संवादबाट सहमतिमा पुग्न आग्रह
कांग्रेस सभापति देउवाले सार्वजनिक जरुरी महत्वका विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाइएको छ । सभापति देउवाले सिन्धुपाल्चोकको लिदीमा पहिरो जानु १० दिनअघि स्थानीयवासीले गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याएको भनी आलोचना गर्दै सोको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन भनी प्रश्न गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले मुलुकका विभिन्न भागमा बाढीपहिराबाट भएको जनधनको क्षति न्यूनीकरणका लागि व्यवस्थित र प्रभावकारी ढङ्गले कार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको मुख्यसचिव पौडेलले बताए । पूर्वप्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० नाघेको र सङ्क्रमण तीव्र गतिमा विस्तार भएको उल्लेख गर्दै बढ्दो चुनौती सामना गर्न कमजोरी समीक्षा गरी नयाँ रणनीतिका साथ कामको गति बढाउन तथा आइसोलेशन र भेन्टिलेटरको पर्याप्त ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
साथै उनले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसङ्गतिमाथि कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रजातन्त्रवादी प्राध्यापक सङ्घको सभापतिलगायतलाई मुद्दा लगाउने, जायज मागको सुनुवाइ नगर्ने र अनशनमा बसेका विद्यार्थीसँग संवाद नगर्ने प्रवृत्ति पाइएको बताउनुभएको पार्टीले जनाएको छ । उनले अविलम्ब संवादबाट समाधानमा पुग्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको बताइएको छ । भेटमा सभापति देउवासँगै पार्टी केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए ।