काठमाडौं। कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले बजारमा महंगी बढेको छ। सामान्य अवस्थाको जस्तै चहलपहल नहुनु, ढुवानीमा अवरोध भएर आपूर्तिमा समस्या हुनु लगायतका कारणले महंगी बढ्दो रहेको छ। नेपाल राष्ट्र बैंकले समेत चालु आर्थिक वर्ष २०७७-०७८मा महंगी दर ७ प्रतिशत पुग्ने प्रक्ष्येपण गरेको छ। जुन प्रक्ष्येपण गत आर्थिक वर्षको तुलनामा अत्यधिक हो। तर, महंगीका बीच खाना पकाउने एलपी ग्यासको मूल्य भने आगामी दिनमा घट्न सक्छ।
प्राकृतिक ग्यास निर्यातकर्ता देशहरुले आगामी अक्टुबरमा ग्यासको मूल्यमा ठुलो कटौती गर्ने भएका छन्। ग्यास निर्यातकर्ता मुलुकहरुले प्राकृतिका ग्यासको मूल्य प्रत्येक ६-६ महिनामा निर्धारण गर्ने गरेका छन्। अप्रिल र अक्टुबरमा मूल्य निर्धारण गर्ने निर्यातकर्ता मुलुकहरुले आगामी अक्टुबरमा मूल्य घटाउने भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुका अनुसार अहिले प्राकृतिक ग्यासको मूल्य २ दशमलव ३९ डलर प्रति मिलियन ब्रिटिश थर्मल युनिट रहेको छ। उक्त मूल्य आगामी अक्टुबरमा १ दशमलव ९० देखि १ दशमलव ९४को बीचमा हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। अक्टुबरमा ग्यासको मूल्य घटेमा २०२०मा मात्रै तेस्रोत पटक ग्यासको मूल्य घट्ने छ। अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य घटेमा नेपालमा पनि मूल्य घटाउनुपर्ने छ। ग्यास लगायत इन्धनको कारोबार गर्दै आएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार अटो प्राइस गर्ने रणनीति लिएका कारण नेपालमा पनि घटाउनुपर्ने बाध्यता निगमलाई हुने छ।