नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेपालगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसगै मृतकको संख्या ४ पुगेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
साउन ३० गते कोरोनाको लक्षण देखिएपछि उनी ३२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए ।
कोरोनाको आशंकामा उनको स्वाब लिइएको थियो । सोमबार दिउँसो ३ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।
सोमबार राति ११ः४० बजे उनको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए । उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो ।
यसअघि नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
सोमबार अपरान्हसम्म देशभर १०७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।