डोटी । जिल्ला अस्पताल डोटीमा कोरोना परीक्षण प्रयोगशाला उद्धघाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको प्रयोगशाला मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा अब धनगढी, डडेल्धुरा र डोटीबाट कोरोना परीक्षण हुनेछ । उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सहि मापनका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०–१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वाबहरु सोमबार परीक्षण गरिएको बायो मेडिकल इन्जिनियर जय साउँदले जानकारी दिए ।
पीसीआर मेसिन जडानका लागि सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही लगायतको टोली डोटी पुगेको थियो ।
गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार डोटी, बैतडी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएको थियो । बैतडीमा भने अझै प्रयोगशाला स्थापना भएको छैन् ।