काठमाडौँ । नेपालमा कोभिड–१९ को संक्रमण अहिलेसम्म सबैभन्दा बढी मंगलबार फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार एकै दिन सबैभन्दा बढी एक हजार १६ जनामा संक्रमित फेला परेको जानकारी दिए ।
विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाको गरिएको पिसीआर परीक्षणमा एक हजार १६ जनामा संक्रमण भएको पाइएको हो ।
यसअघि एकै दिन ७४१ जनामा संक्रमण देखिएको थियो । मंगलबार देखिएका संक्रमितसँगै कूल २८ हजार २५७ जनामा संक्रमित रहेका छन् । नेपालमा पहिलो पटक गत माघ ९ गते चीनको वुहान शहरबाट आएका विद्यार्थीमा संक्रमण देखिएको थियो ।
उनका अनुसार सक्रिय संक्रमित १० हजार ५६३ जना रहेका छन् । यसैगरी मंगलबार ८५ जना संक्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ५८० जना संक्रमित निको भई घर फर्किसकेको उनले बताए ।
अहिलेसम्म ६२.२ प्रतिशत संक्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४२ हजार ८६६ जनाको पिसीआर परीक्षण गरिएको छ । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ९३६ जना रहेका छन् ।
सात जनाको मृत्यु
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले संक्रमणको कारणले सात जनाको निधन भएको जानकारी दिए । उनका अनुसार काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक-एक जना पुरुष तथा तनहँुका एक जना महिलाको संक्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११४ जना संक्रमणबाट मृत्यु भएका छन् ।