काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुखसहीत सुरक्षा निकायका अधिकारीहरुको सहभागितामा मंगलबार बसेको बैठकले बुधबार राति १२ बजेदेखि भदौ १०सम्म निषेधाज्ञा जारी गरेको हो।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दिएको जानकारी अनुसार बुधबार राती १२ बजे देखि लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो। ‘बैठकमा निषेधाज्ञा जारी गर्ने छलफल भएको हो’ मंगलबार साँझको बैठकमा सहभागी ज्ञवालीले हाम्राकुरासँग भने, ‘निर्णय आइसकेको हो।’ निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेकका व्यवसाय र सार्वजनिक यातायात बन्द रहने छन्।
पछिल्लो समय सरकारले गत साउन ६ गते लकडाउन खुला गरेयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको छ। साउन ६ गतेसम्म न्युन रहेको संक्रमित संख्या पछिल्लो समय २ हजार भन्दा बढी पुगिसकेको छ। यसअघि संक्रमण फैलिने भन्दै सरकारले चैत ११ गते देखि लगाएको लकडाउन साउन ६ मा खोलेको थियो।