काठमाडौं । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो करियरमा रेकर्ड राखेको छ । पीएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको हो ।
जर्मन क्लब आरबी लेप्जिग विरुद्ध ३–० गोल अन्तरको जित निकाल्दै पीएसजी फाइनलमा प्रवेश गरेको हो ।
पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल गरे ।
नेयमार र केलियन एम्बापे जर्मन क्लबको कडा निगरानीमा पर्दा मारियाले त्यसको फाईदा उठाएका थिए ।
युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।
पीएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब ओलम्पिक लियोन बीचको विजेतासंग खेल्नेछ ।
म्युनिख र लियोनबीचको खेल बुधबार राति हुनेछ । खेल नेपाली समयअनुसार राति सवा १ बजे हुनेछ ।