arrow

काभ्रेमा १०२ संक्रमित, स्थानीय त्रसित

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
kavre-distric.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको सङ्ख्या सय नाघेको छ । बुधबार पाँच थपिएपछि संक्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ ।

बुधबार पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय एक महिला र बनेपा नपा–१३ को एक पुरुषमा कोराना संक्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । मङ्गलबार अस्पतालको छ कर्मचारीसहित १६ मा कोरोना संक्रमण भएको थियो । 

केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । सोमबार चार, आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा संक्रमण देखिएको थियो । 

संक्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना संक्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । 

उनका अनुसार कुल संक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन् । बाँकी संक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन बेड व्यवस्थित गरेका छन् । पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा ७६ पुरुष र १३ महिला बसेका छन् । 

छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका हुन् ।



लोकप्रिय समाचार
नयाँ