arrow

रेमिट्यान्सले पारेन निराश, कोरोना महामारीकै बेलामा पनि अघिल्लो वर्षकै हाराहारीमा भित्रियो

logo
पीबी चन्द,
प्रकाशित २०७७ भदौ ३ बुधबार
remittance.jpg.jpeg

काठमाडौं। कोरोना भाइरस महामारीको असर चौतर्फी परेको बेला नेपालको अर्थतन्त्रलाई बचाइराखेको रेमिट्यान्समा यसको कस्तो प्रभाव पर्ने चिन्ताकै बीचमा प्रारम्भिक तथ्यमा भने सन्तोषजनक देखिएको छ।

अर्थतन्त्रको सबै क्षेत्रमा व्यापक असर रहेपनि नेपालमा भित्रिने रेमिट्यान्समा भने यस्को असर खासै परेको देखिएन । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/०७७मा अघिल्लो आर्थिक वर्ष २०७५/०७६कै हाहारीमा रेमिट्यान्स नेपाल भित्रिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा नेपालमा कुल ७ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गतवर्ष पनि सोही हाराहारीमा रेमियान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/०७७को ११ महिनामा (साउन–जेठ)सम्म कुल ७ खर्ब ७४ अर्ब ८७ करोड रेमिट्यान्स नेपाल भित्रिसकेको छ। उक्त रेमिट्यान्समा असारमा भित्रिएको जोड्न बाँकी नै छ। असारमा अघिल्लो आर्थिक वर्षकै हाराहारीमा रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६को असारमा मात्रै ८० अर्ब २४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। सोही हाराहारीमा गत असारमा पनि रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ। ‘गत असारमा अघिल्लो वर्षकै हाराहारीमा रेमिट्यान्स भित्रिएको प्रारम्भिक अनुमान छ’ प्रवक्ता भट्टले हाम्राकुरासँग भने, ‘त्यो भन्दा घट्दैन भन्नेमै छौं।’

अघिल्लो आर्थिक वर्ष २०७५/०७६को ११ महिना (साउन–जेठ)सम्म ७ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। तुलनात्मक रुपमा गत आर्थिक वर्षमा रेमिट्यान्समा केही कमी देखिएपनि खासै ठुलो असर नदेखिएको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ।

विगत ५ वर्षमा रेमिट्यान्सको स्थिति
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२/०७३मा ६ खर्ब ६५ अर्ब ६ करोड ४२ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। त्यस्तै आर्थिक वर्ष २०७३/०७४मा ६ खर्ब ९५ अर्ब ४५ करोड २४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७४/०७५मा ७ खर्ब ५५ अर्ब ५ करोड ८६ लाख रुपैयाँ रेमट्यिान्स नेपाल भित्रिएको छ। त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ र गत आर्थिक वर्ष २०७६/०७७को ११ महिनामा ७ खर्ब ७४ अर्ब ८७ करोड रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्क छ।

गरिबी निवारणमा योगदान
नेपालको कुल गार्हस्थ उत्पादनको एक चौथाई रेमिट्यान्सले ओगट्दै आएको छ। कुल गार्हस्थ उत्पादनको २५ दशमलव ४ प्रतिशत रहेको रेमिट्यान्सले गरिबी निवारणमा महत्वपूर्ण योगदान दिएको छ । गरिबी निवारणमा रेमिट्यान्सले ठुलो भुमिका खेलेको नेपाल राष्ट्र बैंकले गत पुसमा गरेको अध्ययनबाट समेत देखिएको छ।

वि.सं. २०६० सालमा गरिबीको रेखामुनी रहेको ३० दशमलव ९ प्रतिशत जनसंख्यालाई २०७४/०७५सम्म आइपुग्दा १८ दशमलव ७ प्रतिशतमा झार्नु रेमिट्यान्सको ठुलो योगदान रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६७/०६८ अनुसार नेपालमा करिब ५६ प्रतिशत घरपरिवारले रेमिट्यान्समा निर्भर छन्। उक्त सर्वेक्षण अनुसार रेमिट्यान्स प्राप्त गर्ने कुल घरपरिवारको कुल आम्दानीमा ३१ प्रतिशत हिस्सा रेमिट्यान्सको रहेको छ। घरपरिवारले पाएको रेमिट्यान्समध्ये ७८ दशमलव ९ प्रतिशत रकम घरायसी उपभोगमा लगाउने गरेको पाइएको छ । त्यस्तै ७ दशमलव १ प्रतिशत ऋण तिर्न, ३ दशमलव ५ प्रतिशत शिक्षामा र ४ दशमलव ५ प्रतिशत घरायसी सम्पत्तिमा खर्च भई शुन्य दशमलव ६ प्रतिशत मात्रै बचतमा रहने गरेको छ।

बैंक तथा वित्तीय संस्थालाई निक्षेप संकलन गर्न र निजी क्षेत्रको कर्जा प्रवाहमा रेमिट्यान्सको महत्वपूर्ण भुमिका रहेको छ। नेपाललाई अन्तर्राष्ट्रिय दातृ निकायले दिने विकास अनुदान र प्रत्यक्ष लगानीको तुलनामा रेमिट्यान्स बढी भित्रिने भएकाले विदेशी विनिमय सञ्चितिको मूख्य आधारका रुपमा रेमिट्यान्सलाई लिइएको राष्ट्र बैंकको भनाई छ।



लोकप्रिय समाचार
नयाँ