काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछाने रहेको जमैका तलावाजले विजयी सुरुवात गरेको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गर्दै जमैकाले शानदार सुरुवात गरेको हो ।
खेलमा सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य जमैकाले १८.५ ओभरमा पूरा गर्यो ।
जमैकाको जितमा आसिफ अलीले नटआउट ४७ रन, ग्लेन फिलिप्सले ४४ रन तथा रोभम्यान पोवेलले २६ रन बनाए । सेन्ट लुसियाका केस्रिक विलियम्सले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।
सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रन तथा नाजिबउल्लाह जाड्रनले २५ रन जोड्दा आन्द्रे फ्लेटचरले २२ रन बनाए ।
जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले २–२ विकेट लिए । नेपाली बलर सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिए ।
जितसँगै जमैकाले १ खेलमा २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।