काठमाडौं । राष्ट्र बैंकले सिमित संख्यामा कर्मचारी उपस्थित गराएर बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएपनि बिहीबार भने काठमाडौं उपत्यकामा बैंकिङ सेवा बन्द गरिएको छ ।
उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरु र ट्राफिक प्रहरी कार्यालयबीच उचित समन्वय हुन नसक्दा बैंकमा जान लागेका कर्मचारीहरुलाई ट्राफिक प्रहरीले बाटोमा नै रोकेपछि बिहीबार बैंकिङ सेवा बन्द भएको हो ।
बैंकका कर्मचारीहरुलाई ट्राफिकले बाटोमै रोकेपछि नेपाल बैंकर्स एसोसिएसनले बिहीबार उपत्यकाका बैंकका सबै शाखा बन्द गर्न निर्देशन दिएको हो ।
यसअघि बुधबार रातीदेखि उपत्यकामा निषेधाज्ञा लागु हुने भएपनि स्थानीय प्रशासनले अत्यावश्यकीय सेवालाई सूचारु राख्ने गरी निषेधाज्ञा गरिने बताएको थियो ।
बैंकलाई पनि अत्यावश्यकीय सेवामा राखिएकाले निषेधाज्ञाको समयमा बैंकिङ सेवा सूचारु राख्ने सहमति थियो ।
बुधबार रातीदेखि निषेधाज्ञा हुने भएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यकीय सेवा भन्दै बैंकका सिमीत शाखाहरु खुला राख्न सकिने जनाएको थियो । तर, उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरु र ट्राफिक प्रहरीबीच उचित समन्वय हुन नसक्दा बिहीबार काममा हिँडेका कर्मचारीलाई ट्राफिक प्रहरीले रोकेर घर फिर्ता पठाएको छ ।
अब बैंकर्स संघले राष्ट्र बैंक र स्थानीय प्रशासनसँग समन्वय गरेर शाखा खोल्ने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइरालाले जानकारी दिए । ‘प्रहरीले रोकिहाल्यो, त्यही भएर बैंकर्स एसोसिएसनले बिहीबार भ्यालीका सबै शाखा बन्द गर्ने निर्णय गरेको छ’ कोइरालाले हाम्राकुरासँग भने, ‘अब खोल्ने विषयमा एसोसिएसनले राष्ट्र बैंक र प्रशासनसँग समन्वय गरिराछ बेलुकासम्म केही आउला ।’
त्यस्तै एक अर्का बैंकरले बैंकका ८ वटा मात्रै शाखा खोल्ने सहमती अनुसार सिमीत कर्मचारी राखेर सेवा दिन खोज्दा प्रहरीले अवरोध गरेको बताए ।
ती बैंकरले राष्ट्र बैंकले एटिएम खुला राख्न, विद्युतीय कारोबार गर्न भनेपनि त्यसका लागि समेत बैंकमा कर्मचारी चाहिने भएकाले सिमित कर्मचारी राखेर बैंकिङ सेवा दिन खोज्दा अवरोध गरिएको बताए ।
यसअघि नेपाल राष्ट्र बैंकले बुधबार मात्रै सूचना जारी गरेर न्युनतम कर्मचारीको उपस्थितिमा आधारभुत सेवा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन पनि दिएको थियो । निर्देशनमा सकेसम्म विद्युतीय कोरोबार गराउन र एटिएमहरुमा प्रशस्त पैसा उपलब्ध गराउन पनि भनिएको थियो ।