arrow

इन्द्रध्वजोत्थानका लागि रुख नकाटिने, जात्रा स्थगित

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
indra-jatra.jpg

काठमाडौँ । यस वर्ष इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान गर्न रुख नकाटिने निर्णय भएको गुठी संस्थानले जनाएको छ ।  काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएर बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि इन्द्रध्वजोत्थानका लागि रुख नकाटिएको इन्द्रजात्रा सञ्चालन गर्ने जिम्मेवारी पाएको संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्ने साइत आज राति ९:२५ बजेको दिएको थियो ।

जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत आज बिहान ११:१५ बजे दिइएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०:५५ बजे शुभ रहेको समितिले जनाएको थियो । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ ।

 भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७:०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यसपटक भने कोरोनाका कारण जात्रा स्थगित गरिएको छ । यस दिन उपत्यकामा सार्वजनिक बिदा समेत दिइने परम्परा छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीन परम्परा छ । 

 आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४:०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको थियो । कोरोनाका कारण यी विधि नहुने भएपछि जात्राको मुख्य दिन भदौ १६ गते क्षमा पूजा गर्ने तयारी गरिएको संस्थानले जनाएको छ । 

 इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारी लगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीड भाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रा समेत हुन सकेको छैन । 



लोकप्रिय समाचार
नयाँ