काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभर बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले बिहिबार एक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकको बाह्रविसे, जुगल गाउँपालिका, बाजुराको बुढीनन्दा नगरपालिका, अछामको रामरोशन गाउँपालिकामा गएको बाढी पहिरोमा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेका हुन्।
“बाढी, पहिरो र डुवानका कारण प्रभावित उद्धार र राहत कार्यमा सरकारले तदारुकता देखाई घाइतेको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउन नेविसंघ माग गर्दछु”, अध्यक्ष ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेविसंघका महामन्त्री दिपक भट्टराईले बाढी पहिरोका कारण घरवार विहिन भएकालाई पुनर्वास तथा दिर्घकालीन जीवीकोपार्जनको व्यवस्था मिलाउन आग्रह गरे । महामन्त्री भट्टराईले भने,' हामीलाई संकटमाथी विपत थपिएको छ। हाम्रो शुभेक्षा सरकार संवेदनशील बनोस्, केबल सत्ता होईन संकटतर्फ पनि ध्यान केन्द्रित गरोस्। सम्पूर्ण नेविसंघका साथीहरूलाई कोरोनाको सतर्कतासंगै उद्धार तथा राहत कार्यमा जुट्न समेत अनुरोध गर्दछौ।'
त्यसैगरी अर्का महामन्त्री बलदेब तिमल्सिनाले सबै तहका नेविसंघका नेता तथा कार्यकर्तालाई उद्धार तथा राहतमा आ–आफ्नो ठाउँबाट जुट्न अपिल गरेका छन् ।
नेविसंघले विद्यार्थीलाई विपद्को समयमा उद्धार र राहतमा जुट्नसमेत आह्वान गरेको छ ।