काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछाने रहेको जमैका तलावाज दोस्रो खेलमा पराजित भएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा बुधबार राति भएको पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको जमैका दोस्रो खेलमा शुक्रबार बिहान टारोउवामा भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससंग ७ विकेटले पराजित भएको हो ।
पहिलो खेलमा एक विकेट लिएका सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेका थिए । दोस्रो खेलमा सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिएका हुन् ।
तर त्यो विकेटले हारलाई रोक्न भने सकेन । १३६ रनको मध्यम चुनौती पछ्याएको राइडर्सले १८.१ ओभरमै ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।
सुनिल नाराइनले ५३ तथा कोलिन मुन्रोले नटआउट ४९ रन बनाए । सन्दीपसंगै फिडेल एडवार्ड र मुजीब उर रहमानले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको जमैकाले ग्लेन फिलिप्सको ५८ तथा आन्द्रे रसेलको २५ रनको मद्धतले ८ विकेटको नोक्सानीमा १३५ रनमात्र बनाएको थियो ।
यो खेलपछि दोस्रो चरणको समाप्तिसंगै अंक तालिकामा राइडर्स ४ अंकसहित शीर्ष स्थानमा रहँदा जमैका २ अंकबाट चौथो स्थानमा झरेको छ । सेन्ट किट्सले मात्र अंकको खाता खोलेको छैन ।