काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको सेप्टेम्बर १२ बाट सुरु हुने नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार २०२०–२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
नयाँ सिजनको खेल तालिका अनुसार पहिलो दिन ६ खेल हुनेछन् । जसमा साविक विजेता लिभरपुलले नव प्रवेशी क्लब लिड्स युनाइटेडसँग खेल्नेछ ।
३० वर्षपछि गत सिजन प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ । लिड्स १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो । लिड्सले च्याम्पियनसिपको उपाधि जितेको थियो ।
पहिलो दिन नै आर्सनलले फुलहमसँग, लेष्टर सिटीले वेस्ट ब्रुमविच आल्बियनसँग, टोटनह्याम हट्सपरले एभर्टनसँग, साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग तथा वेस्ट ह्याम युनाइटेडले न्युकासल युनाइटेडसँग खेल्नेछ ।
चौथो स्थानमा लिग सकाएको चेल्सीले भने सेप्टेम्बर १४ मा ब्राइटनसँग खेल्नेछ । त्यही दिन सेफिल्ड युनाइटेड र उल्भरह्याम्पटन वान्डेरर्सले खेल्नेछन् ।
दोस्रो स्थानमा रहेर लिग सकाएको म्यानचेस्टर सिटीले पहिलो खेलमा एस्टन भिल्लासँग खेल्दा तेस्रो स्थानमा रहेर लिग सकाएको म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ । यस खेलको मिति तोकिएको छैन ।
लिगको सिजन २०२१ को मे २३ मा सकिनेछ ।