काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नैतिक संकटमा परेका छन् । विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विदेशमा रहेका नेपालीहरुको नियमित उद्धार गर्ने निर्णय गरेपछि उनी नैतिक संकटमा परेका हुन् । पर्यटन मन्त्रालयले विदेशमा रहेका नेपालीहरूको उद्धारका लागि नियमित उद्धार गर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लगेपछि विहिबार साँझ नै सो प्रस्ताव पारित भएको थियो ।
कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि गठन गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले उद्धार उडान अनुमति नदिँदा घर जान दुबई एयरपोर्टमा आइसकेका २ सय ६६ नेपाली घर फर्कन नपाएर अलपत्र परेका थिए । सीसीएमसी निर्देशनक समितिका संयोजक रहेका उपप्रधानमन्त्री पोखरेलले उडान अनुमति नदिंदा उनीहरु स्वदेश फर्कन पाएका थिएनन् । सो समितले उडान अनुमति नदिएपछि पर्यटनमन्त्री योगेश भट्टराई र रक्षामन्त्री पोखरेलबीच बुधबार प्रधानमन्त्रीकै सामुन्ने वादविवाद भएको थियो । विदेशमा रहेका नेपालीहरु र नेपालमै पनि सामाजिक संजालमा सरकारविरुद्ध आक्रोश पोखेको कुरामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईबीच विवादसमेत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री भट्टराई नियमित उडानसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पर्यटनमन्त्री भट्टराईले आउँदो सेप्टेम्बर १ देखि विदेशमा रहेका नेपालीका लागि नियमित उद्धार उडान गर्ने प्रस्ताव लगेका हुन् । त्यसैगरी भारतस्थित नयाँ दिल्लीबाट पनि हप्ताको एक दिन उडान गर्ने प्रस्ताव गरिएको थियो । उनले नेपालको होटल व्यवसायीहरूको संगठन हानसँग समन्वय गरेर उद्धार गरेका नागरिकलाई त्यहाँ क्वारेन्टाइनमा राख्ने प्रस्तावसमेत लगेको थिए । मन्त्री भट्टराइले लगेको प्रस्ताव पास भएपछि पोखरेललाई नैतिक रुपमा संकट परेको स्रोतको दावी छ ।
सिसिएमसीको बुधबारको बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन सिसिएमसीले उडान भर्न रोक लगाउँदा सरकारको छविसमेत बिग्रेको तर्कसहित विरोध गरेका थिए । उनले सिसिएमसीले सरोकारवाला पक्षसँग समन्वय नगरी उद्धार उडानमा रोक लगाएको भन्दै आपत्ति जनाएका थिए । उनी पनि सिसिएमसीका सदस्य हुन् । त्यसबेला प्रधानमन्त्रीले उचित निर्णय लिइने भन्दै दुवै मन्त्रीलाई विवाद नगर्न आग्रह गरेका थिए ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलको यो प्रकरणसँगै नेपाली सेनासँग सम्वन्ध सुमधुर राख्न नसकेको उल्टै सेनाको बिरुद्ध सार्वजनिक कार्यक्रममा नै बोलेको बिषयमा पनि विवादमा परेका छन्। सेनाले आफूहरुलाई काम गर्न मन्त्रीले असहयोग गरेको प्रधानमन्त्रीलाई सुनाएको छ ।