arrow

खाँदबारीको आइसोलेशनमा तोडफोड, १५ लाखको स्वास्थ्य सामग्री चोरी

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
isolation-bajura.gif

किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ । 

आइसोलेशन तोडफोड र चोरी हुँदा रु १५ लाखका स्वास्थ्य सामग्री क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले जानकारी दिए । जिल्ला अस्पतालले क्याम्पसमा १० शय्याको आइसोलेशन सेण्टर  निर्माण गरेको  थियो । जिल्ला अस्पतालले सो सम्बन्धमा  जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएको छ ।

अज्ञात समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिइ थान, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायत सामग्री चोरी गरेको अस्पतालले जनाएको छ । अस्पतालले करीब पाँच महिना अगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेशन निर्माण गरेको थियो ।  गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टिन र आइसोलेशन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो । 

क्याम्पस प्रशासन र स्थानीयवासीले जोखिम बढ्ने भनी आइसोलेशन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेशन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो । 

आइसोलेशन तोडफोड गर्ने अहिलेसम्म कोही  पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए । सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टिनमा रहेका धर्मदेवी–४ का ३४ वर्षीय तथा चैनपुर नगरपालिका–११ का २४ वर्षीय र २२ वर्षीय पुरुषमा  कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुलाई बिहीबार क्याम्पसमा निर्माण भएको आइसोलेशनमा ल्याउने भएपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए । 

अहिले तीन कोरोना संक्रमितको हिमालय क्याम्पसमै उपचार भइरहेको अस्पतालका प्रशासन जनाएको छ । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ