arrow

१० हजार भेन्टिलेटर र आइसियू व्यवस्था गर्न सरकारलाई निर्देशन

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
icu-hospital.jpg

काठमाडौँ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपङ्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र  सुरक्षाकर्मीलगायतको सुरक्षाको  सुनिश्चितता गरी मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।

 समितिको शुक्रबारको भर्चुअल बैठकले आधारभूत स्वास्थ्य सेवामा सरल र सहज पहुँच नागरिकको मौलिक हक भएकाले कोभिड– १९ बाहेकका बिरामीको उपचार गर्नेतर्फ गम्भीर ध्यान दिँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

     
कोभिड–१९ को उपचारका लागि निजी अस्पताल र  मेडिकललाई समेत प्रयोग गर्नका लागि राज्यका तर्फबाट आवश्यक साधनस्रोत सहयोग गरी नागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गर्न पनि समितिले सुझाव दिएको छ ।

कोभिड– को उपचारका लागि कोरोना डेडिकेटेड  अस्पतालको सङ्ख्या तत्काल वृद्धि गर्न तथा कोभिड–१९ बाहेकका बिरामीको उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्वसावधानी र उचित सतर्कताका साथ गर्ने  व्यवस्था मिलाउन पनि बैठकले निर्देशन गरेको छ ।
     
कोभिड–१९ संक्रमित सक्रियको सङ्ख्या व्यापकरुपमा बढी रहेकाले १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न पनि समितिले सरकारलाई भनेको छ ।
     
साथै कोभिड–१९ का लागि आवश्यक पर्ने उपकरणको वितरण सातै प्रदेशमा बिरामीको चापका आधारमा सन्तुलित र समानुपातिकरुपमा गर्न तथा जनशक्ति आवश्यकताका आधारमा नियुक्त गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ । 

समितिका सभापति कृष्णभक्त पोखरेलका  अध्यक्षतामा बसेको उक्त बैठकले कोभिड–१९ को संक्रमण भयावहरुपमा फैलिएकाले ७७ जिल्ला सदरमुकामबाट पिसिआर परीक्षण गर्ने प्रबन्ध मिलाउन निर्देश गरेको छ ।

समितिले कन्टयाक ट्रेसिङलाई व्यापक बनाउन प्रभावकारी र व्यवस्थित गरी जोखिम न्यूनीकरणतर्फ जोड दिन पनि सरकारलाई सुझाव दिएको छ ।



लोकप्रिय समाचार
नयाँ