रौतहट । रौतहटमा नेपाली सेनाले दुई वटा हेलिप्याड निर्माण गरि हस्तान्तरण गरेको छ । गढीमाई नगरपालिका र गौर नगरपालिकाले उपलब्ध गराएको जग्गामा हेलिप्याड निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।
बर्सेनि बाढी र डुवानको त्रास बढी रहने रौतहटमा उद्दार,निरिक्षण र राहत पुर्याउने कार्यमा हेलिकप्टर अवतरण गराउन समेत समस्या भएपछि सेनाको द्रुत प्रभाव प्रोजेक्ट अन्तर्गत हेलिप्याड निर्माण गरेर सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको ईन्द्रबक्स गण चन्द्रपुरका प्रमुख सेनानी सामन्तध्वज खाँणले जानकारी दिए ।
शुक्रबार गणपति प्रमुख सेनानी खाँणले गौर नगरपालिकाका प्रमुख अजय गुप्ता,हेलिप्याड निर्माण भएको ८ नम्बर वडाका वडाध्यक्ष जनार्धन साह त्यस्तै गढीमाई नपाका मेयर श्याम प्रसाद यादब र वडा नम्बर २ का वडाध्यक्ष दिपेन श्रेष्ठ र ईन्द्रबक्स गणका सहायक सेनानी बाबुराम पौडेलको उपस्थितिमा हेलिप्याड हस्तान्तरण गरेका हुन् ।
सेनाद्धारा निर्मित २ वटै हेलिप्याड दिउँसो र राती समेत प्रयोग गर्न सकिने प्रमुख सेनानी खाँणले जानकारी दिए । पछिल्ला बर्षहरुमा नेपाली सेना जनताको समस्या बुझ्दै जनभावनाका कदर गर्दै व्यवसायीक रुपमा चल्दै आएको उनले बताए ।
यसअघि आपतकालीन अवस्थामा हेलिप्याडको अभावका कारण समस्या हुँदै आएको भए पनि अबका दिनमा सो समस्या नआउने प्रमुख सेनानी खाँणले विश्वास व्यक्त गरे ।