काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको माया गरौंला बोलको गीत युट्युवमा ट्रेण्डिङमा छ। शुक्रबार युट्युव ट्रेण्डिङको पहिलो नम्बरमा रहेको उक्त गीत शनिबार यो समाचार तयार पार्दासम्म ट्रेण्डिङको १८औं नम्बरमा छ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि चैत ११ गते देखि गरेको लकडाउनमा फुर्सद पाएका थपलियाले लेखेका उक्त गीतका शब्दहरु मन छुने छन्। सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको गीतको म्युजिक भिडियोमा पल साह, सुधीर श्रेष्ठ, उषा उप्रेती र सुनिषा बजगाईको भुमिका छ।
उक्त गीतको भिडियो गत ६ अगष्टमा युट्युवमा सार्वजनिक गरिएको छ । शनिबार यो समाचार लेख्दासम्म ३० लाख १२ हजार ८ सय ४० जनाले युट्युवमा हेरिसकेका छन्। पेशाले लामो समय सरकारी प्रशासनमा काम गरेका थपलिया हाल प्रमुख निर्वाचन आयुक्त छन् । तर, उनले लेखेका गीतका शब्द भने भर्खरै माया प्रेम गर्ने उमेर पुगेका किशोर,किशाेरी लाई अनुभुति हुनेगरे झैं छन्।
उनले लेखेका माया गरौंला बोलको गीत मात्रै होइन, यसअघि सर्वाधिक चर्चामा रहेका गीतहरु तिमीलाई देखेपछि आइलभ यु भन्न मन लाग्छ, माच्छिले खाने खोलीको लेउ, मायालु तिमी कता छौ? लगायतका गीत अत्यधिक रुचाइएका गीत हुन् । वषौं अघि लेखिएका शब्द अहिलेपनि उत्तिकै सान्दर्भिक लाग्छन्।
प्रेम गर्ने उमेरको अनुभुति हुनेगरी अहिलेको उमेरमा पनि उनलाई कसरी यस्ता गीत फुर्छन ?
हाम्राकुराले राखेको प्रश्नको जवाफ दिँदै देखे, सुनेको र पढेको आधारमा हुने अनुभुतिलाई छोटकरीमा गीतका माध्यमले प्रष्फुटन गर्ने थपलियाले बताए। ‘माया पिरतीका कुरा मिसाएर आफ्नो कुरा भन्दा पनि फिलिङ्स हो’ उनले शनिबार हाम्राकुरासँग भने, ‘कुनै कुरा देखिन्छ, कुनै सुनिन्छ, कुनै पढिन्छ, अनि अनुभुत गरिन्छ। मान्छेमा फिलिङ्स आउँछ। अनि गीतको माध्यमले छोटकरीमा कथा भनिन्छ।’
अहिले चर्चामा रहेको माया गरौंला बोलको गीतलाई उनले लकडाउनको उपलब्धि भएको बताएका छन्। लकडाउनको अवधिमा मात्रै करिब १ सय वटा गीत लेखेको उनको दावी छ।
नचिनिएका प्रोफेसनल गीतकार
संखुवासभामा जन्मिएका थपलियालाई अधिकांशले सरकारी कर्मचारी भनेरै चिन्छन्। लामो समय सरकारी प्रशासन क्षेत्रमा काम गरेका र विभिन्न मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारी पाएका हुनाले सञ्चार माध्यममा आउने उनको नाम सरकारी कर्मचारीकै रुपमा हो।
तर, उनी पहिले देखि नै गीत लेख्दै आएका र नचिनिएका प्रोफेसनल गीतकार हुन्। उनले लेखेका गीतका तीन वटा त क्यासेट नै छन्। भन्छन्, ‘तीन वटा क्यासेट नै छन्। भिडियोलाइज नगरेसम्म त थाहै नहुँदो रहेछ।’ लकडाउनमै लेखिएका उनका करिब १ दर्जन गीत सार्वजनिक हुन पर्खाइमा छन् । आगामी १२ भदौमा पहिलो पल्ट भेट हुँदा बोलको गीत सार्वजनिक हुन लागेको छ।
गीत युट्युवमा ट्रेण्डिङमा पर्नु, नपर्नु भन्दा पनि गीत कतिको जीवन्त छ भन्नेले अर्थ राख्ने थपलिया बताउँछन् । ‘ठ्याक्कै त्यतिखेरको मासलाई समात्नु भन्दा पनि जीवन्तसम्म रहन्छ कि रहन्नँ भन्ने कुरा चाँही बढी महत्वपूर्ण हुन्छ’ उनी भन्छन्। गीत युट्युवमा सार्वजनिक भएपछि अडियन्सले गीत लेख्नेलाई नचिन्ने र गाउने तथा संगीत भर्नेलाई मात्रै चिन्ने गरेको उनको भनाई छ।
शब्द, स्वर र अभिनय लगायतको उपयुक्त मिश्रणमा धेरैले रुची राखेर अहिलेको गीत पनि ट्रेण्डिङमा पुगेको भन्दै उनले यसबाट अझ लेख्नका लागि प्रेरित भएको बताएका छन्।