रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सरुवा भइ आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन जनप्रतिनिधीहरुले नाटकनै मञ्चन गरेका छन् । अलग अलग दलका भएपनि चन्द्रपुर नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबिच अरु बिषयमा झै कार्यकारी प्रमुख को ल्याउने र कसलाई हटाउने भन्नेमा पनि चोचोमोचो मिलेको छ । १० वटा वडा रहेको चन्द्रपुर नगरपालिकाका नौ जना वडा अध्यक्षले चन्द्रपुर नगरपालिकालाई आफै उत्कृष्ट नगरपालिका समेत ठहर्याउँदै नयाँ कार्यकारीलाई हाजिर हुन नदिने चुनौती दिए । वडाअध्यक्षहरुलाई ९ जना कार्यपालिका सदस्यले पनि साथ दिए ।
चन्द्रपुर नगरपालिकाको कार्यालयमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई हाजिर हुन नदिन उनीहरुले ज्ञापनपत्र नै बुझाए । कार्कीको सरुवा बदर गराउन उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । कामचलाउ प्रमुख प्रशासकिय अधिकृतबाटै बिकास निर्माण,सामाजिक बिकास साथै प्रशासकिय कार्यमा समेत सुधार आएको भन्दै उनैलाई निरन्तरता दिनको लागि चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उनीहरुले बोधार्थ संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयमा समेत पठाएका छन् । उता कार्की भने हाजिर हुन नदिखएपछि भाद्र ३ गते नै नीजगढ नगरपालिकामा गएका छन् । नौ वटा वडाअध्यक्ष र कार्यपालिका सदस्यले चन्द्रपुर नगरपालिकाका प्रमुख चौधरीलाई ज्ञापनपत्र बुझाउने क्रममा बिकास निर्माण अबरुद्ध हुनेसम्मको भाषा प्रयोग गरेको नगरपालिका स्रोतले जनाएको छ ।
ज्ञापनपत्रमा ककसको हस्ताक्षर
कार्यपालिकामा १२ सदस्यसहित नेकपाको बहुमत छ भने नेपाली कांग्रेसका मेयर सहित ५ जना छन । स्पष्ट बहुत नेकपाको भएपनि यहाँ सबै एकजुट भएर निमित्त प्रमुख प्रशासकिय अधिकृतकै भरमा हिसावकिताव मिलाउन ज्ञापनपत्र बुझाएको स्थानीय युवा नरेश लामिछानेको आरोप छ । नगरपालिकाका वडानम्बर १ का अध्यक्ष बीर बहादुर राना, वडानम्बर २ का अध्यक्ष दुत बहादुर थिङ्ग, वडानम्बर ३ का अध्यक्ष बोधनाथ देबकोटा, वडानम्बर ४ का अध्यक्ष अमर आले, वडानम्बर ६ का अध्यक्ष खडक कुश्वाहा, वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेती, वडानम्बर ८ का अध्यक्ष पासपात चौधरी, वडानम्बर ९ का अध्यक्ष गोबिन्द दुलाल, वडानम्बर १० का अध्यक्ष जयराम चौधरी यसैगरी कार्यपालिका सदस्य काजीमान माझी, सुना कार्की, प्रेमा कुमार तिमल्सिना, दुर्गा आचार्य, बिन्दा राम, उपेन्द्र राम, शान्ति बिक, सरस्वती खुलाल रहेका छन् । उनीहरु जनप्रतिनिधि भएपनि मन्त्रालयले जिम्मेवारी तोकेर पठाएको कर्मचारीलाई हाजिर गराउन नदिन आर्थिक चलखेलनै चुरो कुरो रहेको नगरबासीले आरोप लगाएका छन् ।
यसअघि पनि यस्तै घट्ना घटेको थियो । कार्यपालिकाका सदस्यहरुले प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम घिमिरेको सरुवा गराएका थिए । त्यसपछि शिक्षा शाखाका प्रमुख कृष्ण प्रसाद सिग्देल निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाईए र फेरी उनैलाई दोहोर्याउन वडाध्यक्ष र अन्य कार्यपालिका सदस्य कम्मर कसेर लागेका कारण चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधीहरुको चर्काे आलोचना हुन थालेको हो ।
चुरो कुरा यस्तो
चन्द्रपुर नगरपालिकाले नगर सभा सम्पन्न गर्न कोरोना जोखिम भत्ता बितरण गरेको थियो । गत असार १० गते नगर सभाको उद्घाटन गरि साउन २३ गते सम्पन्न गर्नका लागी हात हातमा पैसा बाँडिएको थियो । खाता सञ्चालनमा नरहेपनि अन्य ब्यक्तिसंग सापटी लिएर नगर सभाका सदस्यहरुलाई कोरोना जोखिम भत्ता तथा यातायात खर्च समेत बितरण गरिएको थियो ।
नगरपालिकाका कर्मचारी दामोदर काफ्ले मार्फत ब्यक्तिसंग सापटी लिई जनप्रतिनिधिहरु र सदस्य सचिब प्रमुख प्रशासकिय अधिकृत सहित ५४ जनालाई करकट्टी गरि ६ हजार ३ सय २५ रुपैया जोखिम भता र बाटो खर्च भन्दै ६ सय ७५ गरी ७ हजार नगदको दरले ३ लाख ४१ ह्जार ५ सय ५० रुपैंया खर्च भएको थियो । त्यतिमात्र नभएर नगरसभा सम्पन्न गर्न भुमिका खेलेको भन्दै चन्द्रपुर नगरपालिकाले ३८ जना कर्मचारीलाई एक हजार भता र प्रत्येक कर्मचारीलाई ब्याग समेत बितरण गरिएको थियो ।
कोरोना भाईरसको संक्रमण बढेपछि सरकारले गत चैत्र ११ गते देखि देशभर लकडाउन गर्दाको चार महिनाको अबधिमा चन्द्रपुर नगरपालिकाले घर बिदामा बसेका कर्मचारीलाई समेत पैसा बाँडेका कारण अर्काे अधिकृत हाजिर भएमा सबै फिर्ता गर्नुपर्ने डरले कार्कीलाई हाजिर हुन नदिएको स्पष्ट भएको चन्द्रपुरका युवा नरेश लामिछानेले बताए । पैसा लिने र दिने दुबै नमिल्नुको विकल्प नदेखेपछि चन्द्रपुरमा नयाँ प्रशासकिय अधिकृतलाई हाजिर हुन नदिने प्रपञ्च गरिएको स्थानियको बुझाई छ ।