काठमाडौं । अन्ततः पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारले मोस्ट वान्टेड आतंकवादी दाउद इब्राहिम पाकिस्तानमै रहेको स्वीकारेको छ ।
२७ वर्षसम्म भारतसंग झुठ बोल्दै आएको पाकिस्तानले अहिले आएर दाउद आफ्नै देशमा रहेको कबुल गरेको हो ।
पाकिस्तानले शनिबार ८८ आतंकवादीहरुको लिष्ट जारी गरेको छ । जसमा सन् १९९३ मा भारतको मुम्बई सिरियल ब्लाष्टका मास्टरमाइन्ड तथा मोस्ट वान्टेड दाउदको नाम पनि सामेल छ ।
दाउदको नामसंगै उसंग १४ वटा पासपोर्ट भएको समेत उल्लेख गरिएको छ । दाउदका पाकिस्तानको कराँचीमा तीन वटा घरसमेत रहेको खुलेको छ ।
दाउद मुम्बई बम विष्फोटपछि पाकिस्तान भागेको थियो । उक्त विष्फोटमा परी २५७ जनाको ज्यान गएको थियो । त्यस्तै १४ सय भन्दा बढी घाइते भएका थिए ।
घटनामा दाउदको हात रहेको भारतले पत्ता लगाएर पाकिस्तानमा भागेको थाहा पाए पनि पाकिस्तानले अस्वीकार गर्दै आएको थियो ।
पाकिस्तानले अहिले आएर १४ वटै पासपोर्ट कहिले इस्यु गरिएका थिए भन्नेसमेत विस्तृतमा बताएको छ । त्यस्तै घर कहाँ कहाँ छन् भन्ने खुलाएको छ ।
अहिलेसम्म नभनेको पाकिस्तानले अहिले आएर दाउदका बारेमा जानकारी किन दियो भन्ने बारेमा भने आश्चर्यजनक मानिएको छ ।
यसको प्रमुख कारण आगामी अक्टुबरमा हुने फाइनान्सियल एक्सन टास्क फोर्सको बैठकलाई बताइएको छ । यो फोर्सले विश्वभर मुद्रा अपचलन तथा आतंकवाद फाइनान्सिङ नेटवर्कमाथि निगरानी राख्ने गर्दछ ।
विश्वभरका देश यो टास्क फोर्सको सिफारिसलाई पालना गर्दै आएका छन् । पाकिस्तानको रेकर्ड खराव रहेको छ ।
आतंकवादी कार्वाहीका मामलामा कमजोर देखिएपछि पाकिस्तान सन् २०१८ देखि टास्क फोर्सको ग्रे लिष्टमा रहेको छ ।
यो लिष्टमा रहने राष्ट्रलाई अन्य राष्ट्रले आर्थिक सहायता नदिने उल्लेख छ । पाकिस्तानको आर्थिक स्थिति समेत निकै खस्किएको बताइन्छ ।
विवरण अनुसार दाउदका भारतबाट जारी गरिएका सात वटा, पाकिस्तानबाट जारी गरिएका पाँच वटा, दुबईबाट जारी गरिएको एउटा र जेद्दाहमा भारतीय दूतावासले जारी गरेको एउटा पासपोर्ट रहेको छ ।
पाकिस्तानले पहिलो पटक दाउदमाथि प्रतिबन्ध लगाएको हो ।