arrow

नेकपा नेता प्रभु साहको आडमा दाइको दादागिरी, छिमेकीको घर भत्काइयो

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
prabhu-shah.jpg

काठमाडौं। पूर्व मन्त्री एवंम नेकपा नेता प्रभु साहको आडमा उनका दाई नागेन्द्र साहको दादागिरीले हद नाघ्दा उनका एक छिमेकीको उठीबास हुने भएको छ। नागेन्द्र साहले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथलीमा आफ्नै छिमेकी नरबहादुर भण्डारीको घरमा डोजर लगाएका छन्। आफ्नो घर निर्माणको क्रममा छिमेकीको घरमा डोजर लगाएका साहले उल्टै छिमेकी भण्डारीलाई थर्काउने गरेका छन्।

नागेन्द्र साहले भाई प्रभु साहको शक्तिको आडमा आफ्नो घर बस्नै नमिल्ने बनाइदिएको पिडीत नरबहादुर भण्डारीले हाम्राकुरालाई बताए । घर बस्नै नमिल्ने गरी चिरा परेर छिया छिया भएपछि भण्डारीले महालक्ष्मी नगरपालिकाको कार्यालय र वडा कार्यालयमा पनि उजुरी गरेपनि आफुले क्षतिपुर्ति नपाएको गुनासो गरेका छन्। घर बस्नै मिल्नेगरी चर्किएपछि छलफलमा कुरा नमिल्दा प्रहरीमा उजुरी गर्दा समेत प्रभु साहले शक्तिको दुरुपयोग गरी प्रहरीलाई समेत प्रभावमा पारेपछि प्रहरीबाट पनि क्षतिपूर्ति दिलाउन कुनै सहयोग नपाएको भण्डारीको गुनासो छ।

‘बस्नै नमिल्ने गरी भित्ता चिरा चिरा भएपछि हामी सबै परिवार एउटै कोठामा बस्नु परेको छ’ भण्डारीले भने, ‘एक वर्ष देखि क्षतिपुर्तिका लागि वडा कार्यालय, नगरपालिका कार्यालय र प्रहरीमा दौडधुप गरेपनि क्षतिपूर्ति पाएको छैन।’ क्षतिपूर्ति माग गर्दा प्रभु साहका दाई नागेन्द्र साहले उल्टै थर्काउने गरेको भण्डारीको भनाई छ। ‘अदालत जाने भएपनि जाऊ मलाई केही हुँदैन। तेरै ५० लाख रुपैयाँ खर्च गराइदिन्छु भनेर उल्टै धम्की दिन्छन्’ भण्डारीले दुखेसो पोखे।

२ वर्षअघि घर निर्माणको क्रममा साहबन्धुले भण्डारीको घर चिरा चिरा बनाएपछि त्यसपछिका दुई वर्ष वडा कार्यालयदेखि महानगर र त्यहाँबाट प्रहरीसम्म तारेख मात्रै बोक्नु परेको क्षतिपूर्ति नपाएको भण्डारीको भनाई छ।

छिमेकीबीच भएको उक्त विवादका बारेमा जानकारी नभएको महालक्ष्मी नगरपालिकाको प्रतिक्रिया छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले टिकाथलीमा भण्डारी र साहका बीचमा नगरपालिका जानकार नरहेको भन्दै अब कार्यालय सञ्चालन भएपछि दुवै जनाको विवाद सामाधानको लागि  आवश्यक समन्वय गरिदिने बताए। ‘हामीलाई जानकारी छैन’ उनले भने, ‘अब अफिस खुलेपछि पिडित आउनु भयो भने विवाद समाधानको लागि आवश्यक समन्वय गर्छौं।’

नागेन्द्र साहले शक्तिको आडमा छिमेकीको घर मात्रै चिरा पारेको छैनन्, त्यहीँ बीचमा रहेको सार्वजनिक जग्गा पनि कब्जा गरेका छन्। भण्डारी र साहको जग्गाको बीचमा भएको साढे २ आना जग्गा समेत साहले हड्पेका छन् । त्यसबारेमा पनि नगरपालिकाले छानविन गर्ने बताएको छ।



लोकप्रिय समाचार
नयाँ