कञ्चनपुर ।लकडाउनका कारण नेपाल-भारत सीमा बन्द गरिए पनि कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतबाट चोरीपैठारी गरि ल्याएको ७ लाख बढीको माल सामान प्रहरीले बरामद गरेको छ ।
चैत देखि भदौ पहिलो हप्ता सम्ममा पुनर्वासका विभिन्न सीमा क्षेत्रहरुबाट प्रहरीले ७ लाख ३० हजार ७५० रुपैया मूल्य बराबरका लत्ता कपडा , बिडी सुर्ती, हार्डवेयरका सामान , सौन्दर्य सामाग्री , मोटर साइकल बोइलर कुखुरा र अण्डा बरामद गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
देश भर लक डाउन भएको अबस्थामा सरकारको निर्णय कार्यान्वयनमा खटिनु संगै चोरीपैठारी र राजस्व छली तथा अपराधिक गतिविधि नियन्त्रणमा खटिएका समयमा चोरीपैठारीका मालसामान बरामद गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।
लकडाउनका बेला सीमा क्षेत्रबाट तस्करी बढ्न सक्ने सम्भावना देखेर न्युन जनशक्ती भए पनि बोर्डर क्षेत्रको गस्ती बढाए पछि अबैध नाका प्रयोग गरि नेपाल भित्र्याउन लागेका मालसामान बरामद गर्न प्रहरी सफल बनेको प्रहरी निरीक्षक सिंहले बताए ।
कञ्चनपुरको पुनर्वास स्थित विभिन्न सीमा क्षेत्रबाट बरामद गरिएका मालसामान भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक सिहले बताएका छन् ।
यद्यपि पुनर्वासको सीमा क्षेत्रका ३ स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट स्थापित भए पनि सीमा क्षेत्रमा अबैध मालसामानको ओसारपसार भने रोकिन सकेको छैन ।
नेपाल-भारत सीमाको झन्डै ४० किमि दुरीका दर्जन बढी स्थानहरुबाट अबैध मालसामान ओसारपसार भइ रहेको छ । लक डाउनका बेला नेपाल-भारत सीमा क्षेत्रमा भारतीय बजारहरुबाट बढेको चोरी पैठारीका कारण स्थानीय कुखुरा पालक र तरकारी उत्पादक कृषक समेत मारमा पर्दै आएका छन् ।