काठमाडौं। राजश्व अनुसन्धान विभागले राजश्व छली गरेर कपडाको कारोबार गर्ने विभिन्न फर्म तथा व्यवसायी विरुद्ध ३ करोडको मुद्दा दायर गरेको छ। विभागले आइतबार उच्च अदालत पाटनमा ३ करोड १९ लाख ७७ हजार रुपैयाँ विगोदावी गर्दै विभिन्न ६ जना विरुद्ध मुद्दा दायर गरेको हो।
भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाएर रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापा लगायतका ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व छलेको आरोपमा विभागले मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ। ती ६ जना विरुद्ध तोकिएको विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग मुद्दामा गरिएको छ।
विभागका अनुसार राजश्व छली कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका संचालक राजेन्द्र प्रसाद गुप्ता, बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमार, बारा जिल्ला कलैया नगरपालिकाका स्थायी ठेगाना भई काठमाण्डौमा कपडा पसल संचालन गरि उक्त कार्यको व्यवस्थापन गर्ने रंजित कुमार गुप्ता, दिल्ली भारत स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिकाको सनराईज टावर धोवीघाटमा बसोबास गरी सृजन शर्मा नाम गरेका व्यक्तिका नाममा दर्ता भएको पशुपति ट्रान्सपोर्ट सोलुशन नामको फर्मबाट कारोवार गर्ने लगायत विरुद्ध मुद्दा दायर गरिएको छ।