काठमाडौं। नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नक्साको केक बनाएर खाएपछि देशको झण्डा जलाउनेको मनोबल बढेको बताएका छन् । प्रधानमन्त्री ओलीको उक्त गैरजिम्मेवार कदमको पुनरावृत्ति गर्दै घृणा फैलाउने गरी राष्ट्रिय झण्डा जलाउँदै गरेका दृष्य सहितका गीत भिडियो सार्वजनिक गरेर आपराधिक घटना भएको भण्डारीले बताएका हुन्। ।
कांग्रेस नेता भण्डारीले कोभिड–१९ को कारण मुलुक अहिले गम्भिर स्वास्थ्य तथा आर्थिक संकटमा रहेपनि सरकारका क्रियाकलापहरु जनहित विपरित फगत राजनीतिक लाभहानीको दाउपेचमा अल्झिएको आरोप लगाए । विभिन्न बाहनामा निदाउँदै आएको सरकार देशमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार र नेपालको राष्ट्रियता तथा सनातन धर्ममाथिको अतिक्रमण बढ्दै गएका घटनाहरुप्रति पूर्णत बेखबर रहेको भण्डारीले बताए ।
संविधानमा धर्म निरपेक्षताको व्यवस्था भएपछि सुनियोजित रुपमा हिन्दु धर्मलाई कमजोर बनाउने, विभिन्न तिकडम बाजी गरी धर्म परिवर्तन गर्न लगाउने कार्य दिनप्रति दिन बढ्दै गएको प्रसङग उल्लेख गर्दै उनले गएको ३ गते रौतहटमा हनुमान मन्दिरका पुजारी राम शाहलाई गोली हानी निर्मम हत्या गरिएको समेत बताएका छन् । मन्दिरका पुजारीको हत्या नेपाली सनातन हिन्दु धर्ममाथि गरिएको गम्भिर प्रहार भएको तथा हिन्दु सनातन धर्मलाई कमजोर बनाउने मनसायबाट प्रेरित देखिएको उनले बताए ।
राष्ट्रियतामाथि हुँदै गरेको निरन्तर प्रहार, हिन्दु सनातन धर्ममाथि हुँदै आएका आक्रमणहरुलाई रोक्नेतर्फ सरकारको कुनै चासो नदेखिएको जनाउँदै भण्डारीले सरकारले जिम्मेवार रुपमा जनताको जीवन रक्षा, राष्ट्रियताको सम्वद्र्धन तथा सनातन धर्मको रक्षा गर्दै अपराधिक क्रियाकलापमा लाग्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन माग गरेका छन् ।