विराटनगर । कोरोना भाइरसको महामारीका कारण फेरि एक शिक्षकको ज्यान गएको छ । यसअघि गुल्मीका एक प्रधानाध्यापकको ज्यान कोरोनाबाट गएकामा अहिले मोरङ्गका अवकास प्राप्त शिक्षकको ज्यान गएको हो ।
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय अवकाश प्राप्त शिक्षकको आइतबार राति ९ बजे मृत्यु भएको हो ।
उपचारका लागि अस्पताल पुर्याएको एक घण्टामै उनको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो।
परिवारकै एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका उनको स्वाब संकलन गरेर भदौ ४ गते परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएको थियो।
उनको आइतबार दिउँसो ३ बजेमात्र कोरोना पोजेटिभ आएको थियो । दिउँसो रिपोर्ट पोजेटिभ आएका पुरुषलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ।
मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका तीनै जना अहिले ‘होम आइसोलेसन’मा छन्।
अहिलेसम्म डेढ सय भन्दा बढीको ज्यान गइसकेको छ । ३२ हजार जनालाई कोरोना लागिसकेको छ । तीमध्ये १८ हजार ६३१ जनालाई निको समेत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मात्रै ८१८ संक्रमित थपिएको, २८१ लाई निको भएको र ३ जनाको ज्यान गएको बताएको थियो ।