काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमन गरेका छन् । मन्त्री भट्टले सोमबार बिहानै कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन गरेका हुन् ।
मन्त्री भट्टका स्वकिय सचिव हितेष ओझाका अनुसार तरकारी बजारमा हुने भीडभाड, उपभोक्ता र व्यवसायीले अपनाएको सुरक्षाका मापदण्ड लगायतका स्थिति मन्त्रीले अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री भट्टले विभिन्न तरकारीहरुको पछिल्लो मूल्य बारेपनि जानकारी लिएका थिए । ‘मौसमी तरकारीको मूल्यमा सामान्य उतार चढाव भएको पाइयो’ मन्त्रीका स्वकिय सचिव ओझाले भने, ‘त्यसबाहेक बजार नजिकका प्रहरीलाई सुरक्षा मापदण्ड कार्यान्वयन गराउन भुमिका खेल्न छलफल पनि गरियो ।’
सो क्रममा मन्त्री भट्टले व्यवसायीलाई आपूर्ति व्यवस्था र कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक सुरक्षा मापदण्ड पालना गर्न आग्रह समेत गरेका थिए ।
पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाका संक्रमित बढेसँगै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले आगामी १० भदौसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञामा अत्यावश्यक वस्तुबाहेक अन्य व्यवसाय बन्द गरिएका छन् । अत्यावश्यक वस्तुको कारोबार हुने स्थल कालीमाटी फलफुल तथा तरकारी बजार र बल्खु तरकारी बजारमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षा मापण्ड नअपनाएको गुनासो आएपछि मन्त्री अनुगमनमा निस्केका हुन् ।