गीता छोएर कसम खाएका राप्रपाका नेताहरु अझै मिल्न सकेनन
राप्रपा पार्टी एकीकरण संकटमा
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ८ सोमबार
24
Shares
काठमाडौं। करिब ६ महिना अघि पार्टी एकीकरण गर्ने सहमति पछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पार्टी घोषणा कार्यक्रममा गीता छोएरै कमस खाएका थिए । ‘अब हामी कहिले पनि फुट्ने छैनौ’ भनी सार्वजनिक रुपमा गीता छोएरै प्रतिबद्धता गरेका थिए । आफूलाई हिन्दुवादी नेता देखाउन उनीहरुले गीता छोएका थिए तर गीता छोएर खाएको कसमलाई भने उनीहरुले व्यवहारमा उतार्न सकेका छैनन् ।
२०७६ फागुन २८ गते घोषणा सभा हुँदा तत्कालिन राप्रपा अध्यक्ष कमल थापा सुरुमा मञ्चमा गइ कार्यकर्ताको अगाडि गीता छोए । त्यसपछि गीता छुन अरु नेताहरुलाई आग्रह गरेका थिए । पालैपालो सबैले गीता छोएर कसम खाए । तर सो कसमको मान राख्न भने सकेका छैनन् ।
तत्कालिन राप्रपा र राप्रपा (संयुक्त)वीच एकीकरण भइ राप्रपा गठन भएको ६ महिना हुन लागेको छ तर राप्रपाका नेताहरुले अहिलेसम्म पार्टी एकीकरण भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएका छैनन् ।
दुई पार्टी एकीकरण पछि एकीकृत पार्टी दर्ता गर्न राप्रपाका नेताहरुले आयोगमा निबेदन दिएका छैनन् । कानुनमा दुई पार्टीवीच एकीकरण भए पछि एकीकरण घोषणा गरिएको ४५ दिन भित्र नवगठित पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निबेदन दिनुपर्ने व्यवस्था छ । ४५ दिनभित्र आयोगमा निबेदन नदिएमा पार्टी एकीकरणले कानुनी मान्यता पाउँदैन । त्यसैले कानुनी रुपमा राप्रपाको एकीकरण संकटमा परेको छ ।
कानुनी हिसाबबाट अहिले पनि राप्रपा र राप्रपा (संयुक्त) अलग अलग पार्टी छन् । बरु जनता समाजवादी पार्टीका नेताहरुले पार्टी एकीकरण भएको ४५ दिनभित्रै पार्टी एकीकरण गरिएको जानकारी आयोगलाई गराएका थिए । आयोगले जनता समाजवादीलाई पार्टी एकीकरणको मान्यता पनि दिइसकेको छ ।
निर्वाचन आयोगमा निबेदन नदिनुको मुख्य कारण हो, पार्टीभित्रको विवाद । एकीकृत पार्टीले कुन चुनाव चिन्ह प्रस्ताव गर्ने भन्ने विषयमा तत्कालिन राप्रपा र तत्कालिन राप्रपा (संयुक्त)का नेताहरुवीच कुरा मिल्न सकेको छैन । तत्कालिन राप्रपाका नेताहरुले एकीकृत पार्टीको चुनाव गाइ चिन्ह हुनुपर्ने अडान राखेका छन भने तत्कालिन राप्रपा संयुक्तका नेताहरुले हलो चुनाव चिन्ह हुनुपर्ने अडान राखेका छन् । चिन्हको विषयमा बिवाद बढ्दै गए पछि विवाद मिलाउन दुवै पार्टीले ३–३ सदस्यीय कार्यदल बनाएको छ । तर कार्यादलले पनि बिवाद मिलाउन सकेको छैन । कार्यदलमा विक्रम पाण्डे, श्याम तिमिल्सना, ध्रुव प्रधान, बुद्धिमान तामाङ, दीपक बोहरा र राजेन्द्र लिङ्देन छन् । कार्यदलका सदस्य तिमिल्सनाले चुनाव चिन्हको विषयमा पार्टीभित्र सहमति जुट्न नसक्दा आयोगमा निबेदन नदिएको बताए । ‘पार्टी एकीकरण पछि एकीकृत पार्टीको चुनाव चिन्ह गाइ राख्ने कि हलो राख्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन’ तिमिल्सनाले भने,‘त्यसैले हामी अहिलेसम्म आयोगमा गएका छैनौ ।’विवाद मिलाउन प्रयास भइरहेको र यसकोलागि पटक पटक बैठक बसेको पनि उनले सुनाए ।
राप्रपाका अर्का एक नेता भन्छन, दुवै पक्षले चुनाव चिन्हलाई लिएर आफनो प्रतिष्ठाको विषय बनाएका छन् । त्यसैले यो विषय सजिलै टुंगिने अवस्था छैन ।’
२०७६ फागुन २४ गते तत्कालिन राप्रपा र राप्रपा (संयुक्त)वीच पार्टी एकीकरण गर्न आधारपत्र तयार गरिएको थियो । त्यसको ४ दिन पछि फागुन २८गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी पार्टी एकीकरण गरिएको घोषणा गरियो । पार्टी एकीकरण पछि पनि राप्रपाका नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्ने क्रम जारी छ। पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका पुत्र सुनिल थापाले पार्टी छाडेका छन भने अन्य कार्यकर्ताले पनि धमाधम पार्टी छाड्दै छन । त्यसैले पनि कार्यकर्ता जोगाउन पार्टी एकीकरण गर्नुपर्ने बाध्यता कमल थापा र पशुपति शमसेर राणालाई छ ।