काठमाडौं । कालीमाटी फलफुल तथा तरकारी बजारमा हुने तरकारीको आयातमा कमी आएसँगै त्यसको प्रत्यक्ष असर मूल्यमा परेको छ ।
कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापना समितिका गत भदौ २ गतेको तुलनमा ७ भदौमा तरकारीको आयातमा कमी आएको देखिएको छ ।
भदौ २ गते कुल ३ लाख ९१ हजार १ सय ७९ केजी तरकारी बजारमा भित्रिएको थियो । तर, उक्त आयातमा कमी आएर भदौ ७ अर्थात आइतबार ३ लाख २४ हजार ३ सय ५१ केजी तरकारी भित्रिएको छ ।
सोमबार दिउँसो सम्म कालीमाटी बजारमा ४० हजार ३ सय ४५ केजी तरकारी भित्रिएको छ ।
यसरी आयातमा आएको कमीले माग र आपूर्तिको अनुपात नमिल्दा तरकारीको मूल्य बढेको हो ।
यस्तो छ मूल्य
कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार कालीमाटी बजारमा गत भदौ २ मा प्रतिकेजी ४८ रुपैयाँका दरले थोक विक्री भएको सानो गोलभेडा सोमबार प्रतिकेजी ५५ रुपैयाँका दरले विक्री भइरहेको छ ।
त्यस्तै सोमबार बढेर प्रतिकेजी ६२ रुपैयाँका दरले थोक विक्री भइरहेको टनेलको गोलभेडाको मूल्य गत २ भदौमा ६० रुपैयाँ प्रतिकेजी रहेको थियो ।
समितिका अनुसार २ भदौमा प्रतिकेजी ५५ रुपैयाँका दरले थोक विक्री भएको रातो आलुको मूल्य ५७ पुगेको छ । त्यस्तै भारतबाट आयात हुने सुकेको प्याजको मूल्य अवधिमा बढेर ३२ रुपैयाँ प्रतिकेजीबाट ३९ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
त्यस्तै स्थानीय बन्दाको थोक मूल्य ३८ रुपैयाँबाट बढेर ४२ रुपैयाँ प्रतिकेजी, स्थानीय काउली ११५ रुपैयाँ प्रतिकेजीबाट बढेर १३५ रुपैयाँ प्रतिकेजी र रायोको साग ७५ रुपैयाँ प्रतिकेजीबाट ८५ रुपैयाँ प्रतिकेजी पुगेको कालीमाटी फलफुल तथा तरकारी व्यवस्थापन समितिले जानकारी दिएको छ ।
समितिका अनुसार भदौ २ मा १ सय १५ रुपैयाँ प्रतिकेजी रहेको हरियो प्याजको मूल्य सोमबार १४५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
सो अवधिमा कागतीको मूल्यमा अत्यधिक वृद्धि भएको छ । भदौ २ मा प्रतिकेजी १ सय ५५ रुपैयाँ रहेको कागतीको मूल्य सोमबार २ सय ४५ रुपैयाँ रहेको छ ।
त्यस्तै प्रतिकेजी ८५ रुपैयाँबाट बढेर हरियो खुर्सानीको मूल्य ९८ रुपैयाँ पुगेको छ । समितिका अनुसार अन्य तरकारी तथा फलफुलको मूल्यमा समेत घटबढ भएको छ ।
के अनुगमन हुन्छ?
यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सोमबार बिहानै कालीमाटी फलफुल तथा तरकारी बजार र बल्खु तरकारी बजारको अनुगमन गरेका छन् ।
कुनै कुनै तरकारीको मूल्य बढेको र कुनै कुनैको घटेको समेत पाइएको अनुगमनका क्रममा पाइएको उनका स्वकिय सचिव हितेष ओझाले बताए ।
अनुगमनको मूख्य जिम्मेवारी पाएको सोही मन्त्रालय अन्तरगतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माग अनुसारको आपूर्ति हुन नसकेका कारण मूल्य बढेको बताउँदै अनुगमन गरिने प्रतिक्रिया दिएको छ ।
विभागका अनुगमन निर्देशक सागर मिश्रले तरकारी आपूर्ति माग अनुसार नभएकाले मूल्य बढेको बताउँदै अनुगमन पनि गरिने बताए । ‘माग अनुसारको आपूर्ति नहुँदा मूल्य बढेको हो’ उनले भने, ‘अनुगमनमा जान अहिले कोरोना संक्रमण हुने डर पनि छ । तैपनि हामी अनुगमन गर्छौं ।’