arrow

सुदूरपश्चिम : कोरोनाबाट ९ जनाको मृत्यु, पाँच हजार ४०६ संक्रमित

logo
विमलबहादुर विष्ट,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
dead-body.jpg

डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्म पाँच हजार ४०६ संक्रमित रहेका छन् । यो प्रदेशमा तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । 

चार हजारभन्दा बढी संक्रमित निको भएका छन् ।  प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० संक्रमित निको भइसकेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना संक्रमित उपचारपछि निको भएर घर फिर्किएका छन् । त्यस्तै अछामका ७१३,  कञ्चनपुरका ५८१, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका ११०, दार्चुलाका ४१ तथा डोटीका ५७६ संक्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सुदूरपश्चिममा हाल सक्रिय संक्रमितको सङ्ख्या ९२९ रहेका छन् । संक्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशक गणराज अवस्थीले बताए । उनका अनुसार हाल कञ्चनपुरको महाकाली अस्पतालमा २३, कैलालीको सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई÷दुई र मालाखेती अस्पतालमा एक जना संक्रमितको उपचार भइरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ । 

पछिल्लो समय भारतबाट नेपाली आउने क्रम रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा प्रयाप्त मात्रामा आइसोलेसन वेड नभएका कारण कोरोना संक्रमितलाई निकै समस्या भइरहेको बताइएको छ । कोरोना संक्रमित तथा उनीहरुका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक वा सकारात्मक नहुने भएका कारण पनि अहिले उनीहरु झनै समस्या परेको शिखर नगरपालिका–१ कपल्लेकीका खडकबहादुर बोगटीले जानकारी दिए । उनले भने, “कोरोना संक्रमितलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक छ, उनीहरुलाई घिर्ना वा तिरस्कार होइन, माया, सद्भाव र हौसला दिन जरुरी छ ।”

सुदूरपश्चिममा पहिलो पटक गत चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । रोजगारीको सिलसिलामा दुवईबाट आएका ती युवक सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएर घर फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । संक्रमित भन्दापनि उपचारपछि निको हुने दर बढ्दै गएकाले यसबाट त्रसित वा अत्तिइ हाल्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “संक्रमित हुने र निको हँने दर करिब करिब बराबर छ, कोरोना लागि हाले पनि अत्तिइ हाल्नु पर्ने अवस्था छैन तर सावधानी र सचेतना भन्ने अपनाउनु पर्छ ।” 

सुदूरपश्चिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि कोरोना संक्रमण देखिएको छ । कोरोनो नियन्त्रणका लागि प्रदेश सरकारसहित यहाँका सबै स्थानीय तहले सावधानी अपनाएका कारण सोचेजस्तो समुदायमा फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ ।



लोकप्रिय समाचार
नयाँ