काभ्रेपलाञ्चोक । कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि बनेपा नगरपालिकाले ५० वेडको आइसोलेसन कक्ष तयार गरेको छ ।
बनेपा नगरपालिका—५ स्थित बनेपा प्राविधिक शिक्षालय भवनका चार वटा कक्षामा सो आइसोलेसन कक्ष तयार गरेको हो । नगरपालिकामा हाल कोरोना संक्रमितको सङ्ख्या ६५ पुगेको छ । तीमध्ये २८ जना उपचारपछि घर फर्किएका छन् । बाँकी ‘होम आइसोलेसन’ तथा विभिन्न अस्पतालका आइसोलेसन कक्षमा उपचाररत रहेको नगरप्रमुख लक्ष्मी नरसिं वादेले जानकारी दिए । उनका अनुसार संक्रमित संख्या बढ्न सक्ने भएकाले हाल ५० वेडको आइसोलेसन कक्ष तयार गरिएको हो । “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेसन कक्ष ब्यवस्थित गरेका हौँ”, उनले भने ।
हाल व्यवस्थित गरिएको उक्त आइसोलेसनमा ‘होम आइसोलेसन’मा रहेका चार जनालाई राखिएको छ । तयार गरिएको सो आइसोलेसन कक्षमा पुरुष, महिला, बालबालिका तथा नर्सिङ स्टेशनका लागि छुट्टछुट्टै वेड राखिएको छ । यसअघि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच वेडको आइसोलेसन कक्ष तयार गरिएको थियो । नगरप्रमुख वादेले भने, “संक्रमित थपिँदैछन्, अस्पतालको पाँच वेडले कसरी धान्छ ? त्यसैले हाललाई ५० वेडको आइसोलेसन कक्ष बनाएका छौँ ।”
सो आइसोलेसन कक्षको व्यवस्थापनका लागि बनेपाका युवा व्यवसायी रत्नकुश रञ्जितले २० वेड सहयोग गरेका थिए। अन्य आवश्यकीय सम्पूर्ण सामग्री नगरपालिकाले व्यवस्थापन गरेको प्रमुख वादेले बताए । उनका अनुसार आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान तथा त्यहाँ बस्ने संक्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खानाको व्यवस्थापन गरिएको छ ।
हालसम्म जिल्लामा कोरोना संक्रमिको सङ्ख्या १४६ पुगेको छ । तीमध्ये ६२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ । बाँकी ८२ जना विभिन्न स्थानका आइसोलेसन कक्षमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।