दुल्लू । दैलेखमा निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई कारबाही गरिएको छ । गुराँस गाउँपालिकाले तीन जना शिक्षकलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको भन्दै कारबाही गरेको हो । गुराँस–५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ती शिक्षकलाई जनही १० हजार जरिवाना गरेको हो ।
गाउँपालिकाको विसं २०७५ चैत्र २५ गते निर्णय गर्दै गाउँपालिका भित्रका सरकारी कर्मचारी र शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।
सो निर्णयमा गाउँपालिका भित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाउन नपाइने यदी त्यसो गरेको पाइएमा १० हजार जरिवाना गर्ने उल्लेख छ । उक्त निर्णयको पालना नगरेको भन्दै को निर्णयअनुसार उनीहरुलाई कारबाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
विद्यालयमा कार्यरत शिक्षकहरु पदमवहादुर नेपाली, रोशनी मल्ल र कमलाकुमारी चन्दले आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाएको भन्दै १० हजार जरिवाना स्वरुप गाउँपालिकाको खातामा जम्मा गर्न भनिएको छ ।
विद्यालयलाई एक पत्र लेख्दै गाउँपालिकाको खातामा जनही १० हजारका दरले रकम दाखिला गर्न अनुरोध गरिएको पत्र प्राप्त भएको प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले कार्यपालिका बैठकले निर्णय गरी प्रत्येक सामुदायिक विद्यालयलाई जानकारीका लागि पत्र पठाएको भए पनि ती जना शिक्षकले अटेर गरेकाले जरिवाना तोकिएको बताए ।