दमौली । तनहुँ क्षेत्र नं १ अन्तर्गत निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङको चरम लापरवाही खुलासा भएको छ ।
त्यो पनि सामान्य विषयमा नभई कोरोनाको संक्रमण सम्बन्धी विषयमा रहेको छ । प्रदेश सांसद गुरुङले जारी गरेको विज्ञप्तिमा भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीलाई कोरोनाका संक्रमण भएको भन्दै उल्लेख गरिएको छ ।
जबकि भानु नगरपालिकाका प्रमुख गौलीको केही दिन अगाडि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।
सांसदले गुरुङद्धारा जारी विज्ञप्ती मिति समेत त्रुटी पूर्ण देखिएको छ । उक्त विज्ञप्तीमा एक महिना अगाडिको मिति राखिएको छ ।
सांसद गुरुङद्धारा जारी विज्ञप्ति भ्रम फैलाउने किसिमको आएको भानु नगरपालिकाका प्रमुख उदयराज गौली बताउँछन् ।
सांसद जस्तो जिम्मेवार व्यक्तिले यसरी हचुवाको भरमा विज्ञप्ति जारी गर्नु लज्जाजनक विषय भएको समेत नगरप्रमुख गौलीले बताए ।
यसैबीच नगरप्रमुख गौलीलाई कोरोनाको संक्रमण भएको अफवाह फैलाएका प्रदेश सांसद गुरुङको सचिवालयले विज्ञप्ति जारी गर्नु त्रुटी भएको जनाएको छ ।
तनहुँमा यसअघि कोरोनाको विषयमा अफवाह फैलाउँदा एक युवाले भने कानुनी कार्वाही भोगेका थिए ।