नेपालगञ्ज । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ बर्षीय युवाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
संक्रमित ती बिरामीको दुवै फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ । छातीको समस्या भएपछि उनी सोमबार बिहान १० बजे अस्पताल भर्ना भएका थिए ।
उनको सोमबार नै पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । मंगलबार दिउँसो ३ बजे आएको रिपोर्टमा उनमा कोरोना देखिएको थियो । अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको मंगलबार राति साढे १ बजे मृत्यु भएको हो ।
बाँकेमा अब कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
यसअघि नेपालगन्ज, कोहलपुर, नरैनापुर र बैजनाथमा एक एक जनाको मृत्यु भएको थियो ।