काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ६७ पुगेको छ । तीन जना थपिएसंगै ज्यान गुमाउनेको संख्या १६७ पुगेको हो ।
मंगलबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा मृतकको संख्या १६४ बताइएको थियो ।
त्यसपछि विभिन्न स्थानमा थप तीन जनाको मृत्यु भएको हो । थपिएका मृतकमा बाँकेका १, काठमाडौंका १ र मोरङका एक जना हुन् । कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय युवाको मंगलबार राति १ः३० बजे ज्यान गएको हो ।
संक्रमित ती बिरामीको दुवै फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ । छातीको समस्या भएपछि उनी सोमबार बिहान १० बजे अस्पताल भर्ना भएका थिए ।
उनको सोमबार नै पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । मंगलबार दिउँसो ३ बजे आएको रिपोर्टमा उनमा कोरोना देखिएको थियो । अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको मंगलबार राति साढे १ बजे मृत्यु भएको हो ।
बाँकेमा अब कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि नेपालगन्ज, कोहलपुर, नरैनापुर र बैजनाथमा एक एक जनाको मृत्यु भएको थियो ।
यता, ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै मृत्यु भएको पुष्टि गरेको हो । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
त्यस्तै विराटनगर महानगरपालिकामा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरका अनुसार हाल महानगर–११ स्थित माइतमा बसोबास गर्दै आएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको हो ।
पछिल्लो समय मृतकहरु कम उमेरका हुन थालेका छन् । आँकडा अनुसार अहिले प्रत्येक ४ घण्टामा एक नेपालीको कोरोनाका कारण ज्यान गइरहेको छ ।
वृद्धवृद्धाहरुको यो रोगबाट ज्यान जाने बताइरहँदा पछिल्लो समय युवाहरुसमेत मृत्युको चपेटामा परेका छन् ।