काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थतन्त्रका सूचक राम्रा रहेको सन्देश दिन खोजेको छ ।
राष्ट्र बैंकले मुलुकको शोधानान्तर बचत, विदेशी विनिमय सञ्चिति सरकारसँग भएको मौज्दात रकम लगायतका सूचक राम्रा रहेको सन्देश दिन खोजेपनि समग्रमा यसले नेपाली अर्थतन्त्र कुपोषणको सिकार संघारमा पुगेको संकेत गर्ने जानकारहरुले औंल्याएका छन् ।
राष्ट्र बैंकले गत सोमबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्ष २०७६/०७७मा नेपालको शोधानान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ ।
त्यस्तै विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ र तीनै तहका सरकारसँग गरी १ खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।
शोधानान्तर स्थिति बचतमा हुनु, विदेशी विनिमय सञ्चिति प्रशस्त हुनु र सरकारसँग प्रशस्त नगद मौज्दात हुनु सतही रुपमा राम्रो देखिएपनि अहिलेको स्थितिमा नेपालको अर्थतन्त्र कुपोषणको संघारमा रहेको जानकारहरुले औंल्याएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले यी सूचकहरु भन्नलाई राम्रा भनिएपनि नेपालको अर्थतन्त्र कमजोर भइरहेको त छैन? भनेर पूर्व संकेत दिएको बताए । ‘रिजर्भ बढ्नु भनेको अर्थतन्त्र कमजोर हुँदैछ भन्ने हो । अहिलेको बचत पर्यटन आएर होटेल व्यवसाय चलेर हाम्रो अर्थतन्त्र राम्रो भएर भएको बचत होइन’ थापाले भने, ‘रोजगारी गुमेर भोकमरी हुने सम्भावना छ । यस्तो अवस्थामा शोधानान्तर बचत हुनु, विदेशी विनिमय सञ्चिति १४ खर्ब हुनु, सरकारसँग १ सय ४१ अर्ब बैंकमा मौज्दात यो एकदम राम्रो भनिएको छ । यो टाउको मात्रै ठुलो भएको र हात खुट्टा पातला भएको सुकेनाश लागेजस्तो छ । योसँग जनताको कुनै लेनादेना हुँदैन ।’
विदेशी ऋण लिइएको र विदेशी अर्थतन्त्र राम्रो भएर रेमिट्यान्स नघटेको कारणले यी आँकडा देखिएका थापाले बताए ।
रेमिट्यान्स जनतासँग जोडिएपनि अन्य सुचकले अर्थतन्त्रमा काम नभइरहेको संकेत गर्ने थापाको भनाई थियो । ‘अधिक तरलता २ सय अर्बको छ । यसले विसंगिपूर्ण स्थिति देखिन्छ’ उनले भने, ‘यसले अहिले अर्थतन्त्रमा काम भइराखेको छैन भन्ने देखाउँछ । भएको स्रोत साधनको उपयोग भइराखेको छैन भन्ने देखिन्छ ।’
अधिक तरलता हुनु, स्थानीय तहसँग नगद मौज्दात बजेट हुनु, विदेशी विनिमय सञ्चिति बढेर जानु, राख्नलाई नभएर परिचालन गर्नलाई भएको भन्दै थापाले परिचालन गरेर स्थानीय तहहरुले रोजगार सिर्जना गर्नुपर्ने बताए । ‘पैसा राखेर त केही हुनेवाला छैन । त्यसको उपयोग नै गर्नु पर्यो’ उनले भने, ‘बाटोघाटो बनाउने, वृक्षा रोपण गर्ने, शिक्षा, स्वास्थ, कारखानामा खर्च भए पो अर्थतन्त्रको उत्पादनशिल क्षमता बढ्छ ।’
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार महंगी दर ६ दशमलव १५ प्रतिशत रहेको छ । त्यस्तै गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।