काठमाडौं । सम्धी उपेन्द्र कोइराला नियुक्तिका बारेमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्पष्टोक्ति दिएका छन् । सातौं पटक सरकारी नियुक्ति पाउने कोइरालाको नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको पोखरेलले बताएका छन् ।
उनले बुधबार विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाएका छन्।
“भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु”, उनले विज्ञप्तिमा भनेका छन्, “मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।”
उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाही शासनका तिनै मतियारहरू समेत नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरेका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले कोइरालालाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । कोइराला २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका थिए ।
खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए । २०५८ मा ईश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट केही समय लक्ष्मी बैंकको अध्यक्ष भए ।
पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइन लागिएको छ।
उपप्रधानद्वारा जारी विज्ञप्ति
सबै महानुभावहरूमा अनुरोध !
केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु ।
मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका/ गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दु:खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो ।
अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु- तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै / कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन !!
- ईश्वर पोखरेल
१० भदौं, २०७७