झापा । झापा जिल्लाको झापा गाउँपालिका कामाटोलीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको छ ।
गोरु काटेको खबर पाएर गएको सुरक्षाकर्मीमाथि स्थानियले आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि झापा गाउँपालिका कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो ।
गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीमाथि स्थानियले अवरोध गरेका थिए । त्यस पश्चात् लगत्तै थप सुरक्षाका लागि गएको सशस्त्र प्रहरीमाथि पनि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो ।
सोही क्रममा गोली लागि गम्भीर घाइते भएका आलमको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।
गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लैजान खोजिएपछि स्थानीयवासी आक्रमणमा उत्रिदा उक्त घटना भएको झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले बताए ।
स्थानीयले काटेको गोरुको टाउको र खुट्टा प्रहरीले बरामद गरेपछि आक्रोशित बनेका स्थानीयवासीले सशस्त्र प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ ।
झडपका क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर र पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेका थिए ।
प्रहरीको गोली लागि आलमको मृत्यु भएपछि सो क्षेत्र हाल असामान्य बनेको छ । घटनास्थलमा स्थानीयवासीले टायर बालेर विरोध जनाइरहेका छन् ।