कांग्रेस सांसदहरुको झै नेकपाका सांसदहरुको पनि गुनासो उस्तै
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
76
Shares
काठमाडौं। काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निर्वाचित सांसदहरुले कोरोना संक्रमणका विषयमा सरकारलाई पटक पटक दिइएको सुझाव सरकारले नसुनेको बताएका छन् ।
बुधबार एकै ठाउँमा जम्मा भएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० जना सांसदले कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको बताएका हुन् ।
कांग्रेस सांसद गगनकुमार थापाले सरकारले संक्रमणको गति तिव्र रुपमा बढ्दै जाँदा समेत न्युनिकरणका लागि ठोस योजना नबनाएको र विज्ञको सुझावलाई समेत अटेर गरेको बताए । ‘सरकारलाई पटक पटक सचेत गराएका छौं, अवस्था यो छ यस्तो हुँदैछ भनेर पटक पटक भन्यौं, तर सरकार सुन्दैन, नसुने जस्तो गर्छ,’ कांग्रेस सांसद थापाले भने ।
नेकपा सांसद शशि श्रेष्ठले कोरोना महामारी नियन्त्रणतर्फ केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच जसरी संयोजन हुन नसकेको बताइन । ‘यो महामरीका बेला केन्द्र, प्रदेश र स्थानीय सरकार बीच जसरी संयोजनका साथ काम हुनु पर्ने हो त्यो भइरहेको छैन, महामारीमा सरकारलाई जिम्मेवार बनाउन अब संयुक्त दलीय संयन्त्र बनाउँन दबाब दिनुपर्छ,’ श्रेष्ठले भनिन ।
कांग्रेस सांसद भीमसेनदास प्रधानले संक्रमितको संख्या बढ्दै गएको वर्तमान अवस्थामा निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाइनु पर्ने बताए । ‘निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउनेतर्फ सरकारको ध्यान जाओस, सम्वन्धित क्षेत्रको सांसद त्यसको इनिसियसन लिन तयार रहौं,’ प्रधानले भने ।
नेकपा सांसद राजेन्द्रप्रसाद श्रेष्ठले महामारीको वर्तमान अवस्थामा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा नसुनेको बताए । ‘महामारीको वर्तमान समयमा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा सुनेनन र सुन्नेतर्फ ध्यान नै दिएनन्,’ सांसद श्रेष्ठले भने ।
कांग्रेस सांसद दिव्यमणीराज भण्डारीले सरकारले आफ्नै दलका नेता, जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको बताए । ‘सरकारले कोरोना महामारीका सन्दर्भमा आफ्नै दलका नेता, जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको सुनिन्छ, यो कस्तो सरकार हो ?,’ उनले भने ।
नेकपा सांसद जीवनराम श्रेष्ठले संक्रमितलाई राख्न होम आइसोलेसन उपयुक्त नभएको भन्दै सरकारले नै संस्थागत रुपमा आइसोलेसन बेड तयार गर्नुपर्ने बताए । उनले समयमा नै संक्रमित देखिएकाहरुको रिपोर्ट नआउँने अवस्थामा समेत सरकार जिम्मेवार बन्नुपर्ने र सोही कारण नै संक्रमितको संख्या झनै बढ्दो अवस्थामा गइरहेको बताए ।
कांग्रेस सांसद राजन केसीले सरकारले उपत्यकाका सांसदहरुको गुनासो तथा सुझाव नसुनेको भन्दै उपत्यकाका सांसदहरुको साझा फोरम बनाएर दबाब सृजना गर्नुपर्ने बताए ।
नेकपाकी सांसद रामकुमारी झाँक्रीले सरकारको मानसकिता नै नसुन्ने र सुनेपनि व्यवहारमा लागू नगर्नेतर्फ केन्द्रित रहेको बताइन । ‘अवस्था झनझन बिग्रदै छ, सरकार सुन्दैन, सुने पनि व्यवहारमा लागू गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको छैन, स्थानीय जनप्रतिनिधिदेखि प्रधानमन्त्री र मन्त्रीसम्म नै नसुन्ने प्रवृती देखियो,’ झाँक्रीले भनिन ।
कांग्रेस सांसद प्रधानको पहलमा भएको उपत्यकाका सांसदहरुको छलफलमा नेकपा सांसद कृष्ण राई, बिन्दा पाण्डे सहितले धारणा राखेका थिए ।
प्रधानले उपत्यकाका समस्याको समाधानका लागि सांसदहरुको साझा संयन्त्र शुशिल कोइराला प्रधानमन्त्री हुँदा समेत रहेको र सोही संयन्त्र ब्युताएर समस्या समाधान गर्नेतर्फ सबै सांसदहरु एकताबद्ध र एकिकृत भएर अघि बढ्ने जानकारी दिए ।