arrow

मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न अपिल

‘दृढ निश्चयी, अविचलन, नेपाली महिला आन्दोलनकी प्रणेता, प्रजातान्त्रिक आन्दोलनकी अग्रणी सिपाही मंगला मा नेपाली महिला र प्रजातन्त्र प्रेमी आम नागरिककी प्रेरणाकी श्रोत हुनुहुन्छ’ 

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
mangaladevi-singh.jpg

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाली महिला आन्दोलनकी अग्रज एवं प्रजातान्त्रिक आन्दोलनकी नेतृ मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न अपिल गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले अपिल सार्वजनिक गर्दै सरकारलाई सिंहलाई नेपाल रत्न विभूषणबाट विभूति गर्न अपिल गरेका हुन् । 

उनले अपिलमा भनेका छन्, ‘नेपालमा प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक, अधिकारको निमित्त गरिएका आन्दोलनमा स्व मंगलादेवी सिंहको योगदान अतुलनीय रहेको सबैलाई विदित भएको कुरा हो । महिलाहरुलाई घरभित्रको कामकाजमा सिमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानव अधिकारबाट समेत वञ्चित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागीता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनु पर्ने अधिकारका लागि आवाज उठाउने विरङ्गाना मंगलामा नेपाली महिला अधिकार आन्दोलनकी रत्न हुनु हुन्छ भन्ने कुरामा कुनै दुई मत छैन ।’

मंगलादेवीको योगदानबारे अध्यक्ष जोशी लेख्छन्, ‘काठमाडौंको सम्पन्न परिवारकी छोरी र बुहारी हुँदाहुँदै पनि प्रजातन्त्र र नारी स्वतन्त्रताको निमित्त उहाँले खेप्नु भएको दुःख कष्ट सबैको लागि प्रेरणादायी रहेको छ । २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलनसम्म उहाँको अविच्छिन्न प्रेरणादायी भूमिका रह्यो । नारी पुरुष एक अर्काका पुरक हुन्, नारी स्वतन्त्रता भनेको घर गृहस्थि बिगार्नु होइन बरु यो त कर्तब्यबोध पनि हो । महिलाले स्वतन्त्र रुपले व्यक्तित्व विकास गर्ने अवसर पाउनु पर्दछ भन्ने मान्यता राख्ने मंगला मा नेपाल महिला संघको पहिलो अध्ययक्ष हुनुहुन्छ । रुढिवादमा पिल्सिएको सामाजिक परिवेशमा नारी आन्दोलनको ज्वाला बाल्नु स्व। सिंह जस्तो दृढ निश्चयी नेतृलाई मात्र सम्भव थियो । महिला संघको नेतृत्वमा भएका आन्दोलनको फलस्वरुपः नै अहिले संविधानमा महिला हक अधिकारका कुरा लिपिबद्ध हुन सकेका छन् ।’

जीवनबारे दृढ संकल्प रहेकी मंगलादेवीबारे जोशीले थप अगाडि लेखेका छन्, ‘मंगलादेवी सिंहले विवाह भएको चार महिनामा नै आफ्ना पतिलाई जन्मकैद भएको बज्रपात सहनु भएको थियो । तर सो घटनाले उहाँलाई हतास बनाएन र उहाँ विद्रोही आन्दोलनमा सक्रियताका साथ लाग्नु भयो । दृढ निश्चयी, अविचलन, नेपाली महिला आन्दोलनकी प्रणेता, प्रजातान्त्रिक आन्दोलनकी अग्रणी सिपाही मंगला मा नेपाली महिला र प्रजातन्त्र प्रेमी आम नागरिककी प्रेरणाकी श्रोत हुनुहुन्छ । प्रजातन्त्र र महिला स्वतन्त्राको लागि उहाँको योगदानको उचित कदर हुनु वान्छनीय छ । अतः यस गणेशमान सिंह अध्ययन प्रतिष्ठान मंगलादेवी सिंहलाई नेपाल रत्न बाट शुसोभित गर्नु राज्य र आम नागरिकको पनि दायीत्व हो भनि ठहर गर्दछ ।’



लोकप्रिय समाचार
नयाँ