रक्षामन्त्री पोखरेलको चाहना अनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले पोखरेललाई इकोनोमिक काउन्सिलरमा पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पठाइसकेका छन् ।
अर्थमन्त्रालय अन्तर्गतका सबै आकर्षक भन्सारमा कार्यालयमा रहेर अकूत सम्पत्ति आर्जन गर्ने राजस्व समहूका उपसचिवहरुमध्ये दुई तीन जनाभित्र पर्ने सेवन्तक पोखरेललाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा इकोनोमिक काउन्सिलर बनाउन लागिएको हो । ६० जना सहसचिवलाई प्रदेशमा सरुवाको गृहकार्यमा जुटेको सामान्य प्रशासन मन्त्रालयले उपसचिव पोखरेलको फाइलमा निर्णय गरेको छैन । सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले अर्थमन्त्रालयबाट उपसचिव पोखरेलको सरुवा सहमतिको पत्र आएको तर निर्णय हुन बाँकी रहेको बताए ।
यसअघि उपसचिव पोखरेल अमेरिकाको वासिङ्टनस्थित नेपाली दूताबासको इकानोमिक काउन्सिलरमा जानका लागि लागेका थिए । १ बर्षअघि रिक्त भएको काउन्सिलरमा अर्थमन्त्री डा. खतिवडाका निजी सचिव होमकान्त भण्डारीले उछिट्याए । उपसचिव भण्डारी र सेवन्तक पोखरेलको प्रतिस्पर्धामा अर्थमन्त्रीकै पीएले वासिङ्टनको काउन्सिलरमा मौका पाए । वासिङ्टनमा जानका लागि पनि रक्षामन्त्री पोखरेलले अर्थमन्त्री खतिवडालाई दबाब दिएपनि आफ्नै पीएलाई उक्त मौका दिए । त्यसैको क्षतिपूर्तीस्वरुप अहिले कोलकातामा रिक्त इकोनोमिक काउन्सिलरमा उपसचिव पोखरेललाई पठाउन सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पत्र पठाउन मन्त्री खतिवडा बाध्य भएका छन् ।
राजस्व समूहका उपसचिव सेवन्तक पोखरेल अधिकृत हुँदादेखि नै पटक पटक आकर्षक भन्सार कार्यालयमा बसी अथाह सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । अधिकृत उनी बिराटनगर, भैरहवा जस्ता अति आकर्षक भन्सारमा बसेका थिए । उपसचिव बढुवा हुनासाथ बीरगंज भन्सारमा पदस्थापन भई ३ बर्ष कार्यरत रहेका थिए । प्रायः सबै आकर्षक भन्सारमा काम गर्ने मौका उनले ईश्वर पोखरेलकै प्रतापले पाएका छन् । बीरगंज भन्सारबाट सरुवा भई उनी हाल अर्थ मन्त्रालयमा कार्यरत छन् ।
उनका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकूत सम्पत्ति आर्जनका दर्जनौं उजुरीमा छानबिन पनि भइरहेको छ । उनले आर्जन गरेको सम्पत्ति विभिन्न ब्यापारीक कम्पनीमा लगानी गरेको भन्दै उजुरी परेका छन् ।