arrow

उपत्यकामा ३७७ सहित एक हजार १११ मा संक्रमण, आठको मृत्यु

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ६२९ नमुना परीक्षणमा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् । त्यसैगरी देशभर रहेका संक्रमितमध्ये १५१ आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप आठ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमा  पाँच महिला छन् भने बाँकी तीन पुरुष छन् । ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीय, बाँकेकी ७० वर्षीया र रुपन्देहीकी ७० वर्षीया महिलाको कोरोना भाइरसबाट निधन भएको मन्त्रालयले जनाएको छ । 
 
त्यसैगरी पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषको निधन भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ८३ पुगेको छ । नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ