arrow

प्रहरीको गोली लागेर मृत्यु भएका आलम परिवारसँग सातबुँदे सहमति

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
gunfire.jpg

झापा । झापा गाउँपालिका –३ मा प्रहरीको गोली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई रु १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ ।  जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले रु ५० हजार उपलब्ध गराउने छ ।

त्यस्तै  छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत सङ्घीय र प्रदेश सरकारसँग रु १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी  अन्त्येष्टि गर्नेलगायत सहमति भएको  प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।  

सहमतिपछि  शुक्रबार परिवारले शव बुझ्ने छ ।   सो घटनाको थप अनुसन्धान गर्नका लागि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा  प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुखसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ  । 

 छलफलमा सङ्घीय सांसद, प्रदेशसभा सदस्यसहित स्थानीय जनप्रतिनिधि, पीडित परिवार, राजनीतिक दल र सामाजिक अगुवाको सहभागिता थियो ।



लोकप्रिय समाचार
नयाँ