काठमाडौं। रौतहट र मोरङमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका दुई युवाहरूको शंकास्पद ढंगले भएको मृत्युको घटनाप्रति ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको नेपाली कांग्रेसले जनाएको छ ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिनदेखि हिरासतमा रहेका बर्ष १९ का बिजय महराको बिहिवार अकस्मात बिरगंजको एक अस्पतालमा निधन भएको खबर थाहा पाउँदा परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकालेर जनाएका छन् । रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन कांगेसले सरकार समक्ष माग गरेको छ ।
त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको बिहिवार अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको मृत्यु बारे शंकास्पद विवरणहरु बाहिर आएको उल्लेख गर्दै कांग्रेसले घटनाको सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न माग गरेको छ ।
धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद रहेको शर्माले जारी विज्ञप्तीमा जनाइएको छ । एकपछि अर्को उस्तै घटना हुँदै जांदा नेपाल प्रहरीको छविलाई त्यसले पुर्याउने असरप्रति गम्भीरताका लागि यसको नेतृत्वलाई समेत सजग गराउंदै नेपाली कांग्रेसले वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकार समक्ष आग्रह र माग गरेको छ ।
पुजारी हत्याको अनुसन्धानबारे विशेष ध्यानाकर्षण
रौतहट माधवनारायण नपाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लागि पनि नेपाली कांग्रेसले सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।