arrow

संक्रमण अझ बढ्ने, जीवनशैली परिवर्तन गर्न आग्रह

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहिबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए । 

उनले संक्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखे । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र  घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढीरहेको उनको भनाइ छ । उनले संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे । 

प्रवक्ता डा. गौतमले संक्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे ।  सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट संक्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । उनका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ । 

बिहिबार एकै दिन एक हजार १११ जनामा संक्रमण देखिएको छ भने आठ जनाको संक्रमणका कारणले निधन भएको छ । उनले संक्रमणको रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारीलाई सहानुभूति प्रकट गर्न आग्रह गरे । “नेपालमा सवै अङ्ग संक्रमणको रोकथाम र नियन्त्रण गर्न अहोरात्र खटिएका छन्, खटिएका कर्मचारीका परिवार पनि संक्रमणबाट पीडित भएका छन्”, उनले भने, “यस्तो कठिन घडी संक्रमण रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारी र परिवारप्रति सबैले सहानूभुति राख्नुहोस ।”

संक्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उनले बताए । विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने उनको भनाइ छ । कोभिड–१९ बाट आफू र आफ्नो परिवारलाई बचाउनसमेत उनले अनुरोध गरेका छन्। 



लोकप्रिय समाचार
नयाँ