बालकहरुलाई जर्वजस्ती गर्न लगाए पछि होम तामाङले गरे किशोरीको करणी
विवेक मिश्र,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
39
Shares
बेलबारी। मोरङको बेलबारी नगरपालिका११ स्थित जंगलमा निगुरो टिप्न गएकी १६ वर्षीया किशोरीको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
मंगलबार दिउँसो ३ बजेतिर उनीमाथि ४० वर्षीय होम तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकमा रहेका ११, १२ र १३ वर्षका बालकहरुलाई लिएर किशोरी निगुरो टिप्न गएकी थिइन् ।
बालिका र बालकहरु चारै जनालाई नियन्त्रणमा लिएर तामाङले घटना गराएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई सुरुमा पालैपालो किशोरी माथि बलात्कार गर्न लगाएको र त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको खुलेको हो ।
डर, धम्की र त्रास देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नाता सम्बन्धकी बालिकामाथि बलात्कार गर्न लगाएर त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको पाइयो ढकालले बताए । बालिका र बालकहरुले अस्वीकार गरेपछि हातमा लाट्ठी लिएर पुगेका तामाङले ज्यान लिनेसम्मको धम्की दिएको प्रहरीले जनाएको छ । आफूमाथि धम्की आएपछि डरका कारण बालबालिका चुपचाप तामाङले भने अनुसार गर्न र घटना सहन बाध्य भएको पाइएको छ ।
प्रहरीका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि बालिकालाई बलात्कार गरेको पत्ता लागेको छ । यसलाई प्रहरीले अनौठो घटनाका रुपमा लिएर अनुसन्धान अघि बढाएको छ । निगुरो टिप्न लक्ष्मी सामुदायिक वनमा गएका बालबालिका आफूहरुमाथि अमानवीय घटना भएपछि निगुरोसमेत नलिइकन घर फर्किएको किशोरीका एक आफन्तले बताए । चारै जनाको व्यवहार अरु बेलाकोभन्दा फरक रहेको पाइएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटना बाहिरिएको हो ।
‘सुरुमा बालकहरुलाई बलात्कार गर्न लगाएपछि तीनै बालकहरुलाई अगाडि राखेर तामाङले पनि बलात्कार गरेछन्,’ एक आफन्तले भने, ‘एकान्त जंगलको बीचमा घटना भएकाले उनीहरुले भाग्ने र बच्ने मौकै पाएनछन् ।’ तामाङले भोलिपल्ट पनि घरघरमा पुगेर सबैलाई भेट्दै घटनाका बारेमा कसैलाई नभन्न पुनः दबाब दिएको उनले बताए ।
घटनाका बारेमा थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिरहेको छ ।
प्रहरीको अनुसार तामाङले धम्की दिएर आफूहरुलाई यस्तो कार्य गर्न लगाएको बालकहरुले बताएका छन् । ‘घटनापछि चारै जना डराएका छन् । राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन्,’ उनले भने, ‘उनीहरु सबै जना मानसिक रुपमा विक्षिप्त जस्तो देखिन्छन् । कोही नयाँ मान्छे देख्दा केही गरिहाल्छन् कि जस्तो मान्छन् ।’ घटना बाहिरिएपछि बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी थालेर घटनाको गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जानकारी ढकालले दिए ।
पहिलेदेखि नै बोलाउने, जिस्क्याउने र अनेक हिसाबले प्रलोभनमा पार्ने काम तामाङले गर्ने गरे पनि गाउँकै चिनजानका व्यक्ति भएकाले आफूले वास्ता नगरेको किशोरीले प्रहरीलाई बताएकी छन् । योजनावद्ध रुपमै भएको देखिने प्रहरीले जनाएको छ । घटनाका बारेमा बालबालिकाले आआफ्ना अभिभावकलाई सुनाइसकेका छन् ।
शरीरका केही भागमा चोटसमेत रहेकी बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि प्रहरीले बिहीबार विराटनगरको कोशी अस्पताल ल्याएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणबाट बलात्कारको पुष्टि भएको प्रहरीले जनाएको छ ।
बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको स्थानीयले बताए । बालिका र उनकी आमासँग बिहीबार विराटनगर जानेसमेत खर्च नभएपछि स्थानीयले उठाएर एक हजार पाँच सय रुपैयाँ दिएका थिए ।
श्रीमतीले केही वर्ष अगाडि छाडिसकेका तामाङ भने भाई–बुहारीको घरमा बस्दै आएको खुलेको छ । ‘हाम्रोमा पनि कहिले काहीँ मात्रै आउने गर्नु हुन्थ्यो । अरु बेला कहाँ गएर के गर्नु हुन्छ हामीलाई थाहा भएन,’ बुहारीले भनिन्, ‘हिजो (बुधबार) देखि घरमा आउनु भएको छैन ।